काभ्रे–असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण गएको पहिरोले घरबिहीन बनेका बेथानचोक गाउँपालिकाका एक वृद्ध दम्पतिले बस्ने आश्रय पाएका छन् ।
नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाले बेथानचोक गाउँपालिका वडा नं. ४ चलालका पहिरोपीडित मानवहादुर तामाङ दम्पतिका लागि अस्थायी टहरा निर्माण गरेर अस्तान्तरण गरेको हो । पहिरोले घर भत्किएपछि तामाङ दम्पति त्रिपालमा बस्दै आएका थिए ।
नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योतिको संयोजनमा टहराका लागि उपशाखा सदस्य गोपाल बिस्टले ६ हजार ५ सय बराबर जस्ता पाता, बिष्णुप्रसाद वाग्लेले ५ हजार रुपैयाँ बराबरका अन्य सामग्री, तथा उपशाखाका कोषाध्यक्ष दिलिप तामाङले सामान ओसार्नका लागि निःशुल्क गाडीको व्यवस्था गरेका थिए । सामूदायिक साकोस पनौतीका सञ्चालकसमेत रहेका चलालका स्थानीय सुकुमान तामाङ (छक्कल)ले मानवहादुर तामाङ दम्पतिले सामान्य पालमूनि बसेर गुजारा चलाइरहेको र उनीहरुको बिजोग देखेपछि रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका सभापति मुकुन्दा शर्मालाई अस्थायी टहरा निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । शर्माको पहल र संयोजनमा बनेपा नगरपालिका १२ बासडोलका रेडक्रसकर्मी, सहकारी कर्मी, राजनैतिक दल, महिला वडा सदस्य, रेडक्रसका केन्द्रीय सदस्य, जिल्ला सदस्य एवं अन्य सामाजिक कार्यकर्तागरी २० जनाको उपस्थितमा टहरा निर्माणका लागि श्रम शिविर आयोजना गरिएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका ४ का वडा अध्यक्ष कृष्णबहादुर पाखरिनले पहिरोमा घर गुमाएका वृद्धवृद्धाका लागि बनेपा १२ बासडोल देखि आएर टहरा निर्माण गरिदिएकोमा आभार प्रकट गरे ।
क्षतिग्रस्त घरको जस्तापाताहरु तथा अपुग जस्ता व्यवस्थापन गरेर निर्माण गरिएको टहरा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा सभापति मुकुन्द शर्मा वाग्लेले मानवहादुर तामाङको दम्पतिलाई हस्तान्तरण गरेका थिइ । उनले टहरा निर्माणका लागि पहल गर्ने सकुमान तामाङ, आर्थिक एवं भौतिक सहयोग गर्ने सहयोगीहरु सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता मानवीय सेवामा समर्पित भइरहने बताए । यस्तै विपत्तिमा परेका अन्य पीडित कोही भए खबर गर्न पनि शर्माले आग्रह गरे ।
टहरा पाएपछि खुसी हुँदै पीडित मानबहादुर तामाङले आफू करिब एकमहिना देखि पालमुनि बस्दै आएकोमा अब यो टहरामा बसोबास गर्न पाएकोमा सहजता महसुस हुने बताए। -मेचिकाली बाट