काभ्रे जिल्लाको बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । माइ चण्डेश्वरी जात्राको अवसरमा महोत्सव हुने भएको हो ।
काभ्रे होटल तथा रेष्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । मंगलबार एक पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएका हुन । आगामी हेठ १०, ११ र १२ गते तीन दिन रैथाने खाना महोत्सव हुने पत्रकार सम्मेलनमा जानकारी दिएका छन । महोत्सवका संयोजक एवं काभ्रे होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार भालुले सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउने, रैथाने खानाको परिचय तथा प्रर्वधनका लागि महोत्सवको आयोजना गर्न लागेको बताएका छन् । महोत्सव फाईदाको लागि भन्दा पनि प्रर्वधनका लागि आयोजना गरेको भालुले जानकारी दिए । करिब १५ वटा स्टलमा विभिन्न नेवारी रैथाने परिकार हुने उनको भनाई छ । महोत्सवमा हजारौँ मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।
काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष शिव तिमल्सिनाले बनेपाको पहिचान झल्काउने परिकारको प्रवर्धनको लागि महोत्सवको आयोजना गर्न लागेको बताए ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष कृष्ण श्रेष्ठका अनुसार उक्त माहोत्सवका लागि करिब ४ लाख बजेट आवश्यक पर्ने छ । प्रति स्टल १० हजारका दरले शुल्क उठाएर उक्त बजेट परिपुर्ति गर्ने योजना रहेको उनले बताए । तीन दिनसम्म चल्ने महोत्सवमा २५ देखि ४० वटा स्टल हुने अनुमान गरिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेका सचिव कपिल कोइरालाले नामले मात्र हैन साच्चै रैथाने खाना महोत्सव होस भन्ने शुभकामना व्यक्त गरे । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष मोतिराम तिमल्सिनाले काभ्रे जिल्ला भरीको जात्राहरुमा यस्ता महोत्सव हुनु जरुरी भएको बताएका छन । रैथाने खाना महोत्सवमा एउटा स्टलमा बनेपाको र चण्डेश्वरी जात्राको इतिहासको बारेमा जानकारी दिने खालको सामाग्री हुदा राम्रो हुने तिमल्सिनाले बताए ।