समकालिन संगीतकर्मीहरुका विचमा उम्दा संगीतकर्मीका रुपमा चिनिएका राजेन्द्र बजगाई नेपाली लोक, आधुनिक, पप, चलचित्र सवै विधामा उत्तिकै पोख्त रहेका छन् । नेपाली, हिन्दी, मैथली, भोजपुरी, थारु लगाएत थुप्रै भाषाका गीतहरुमा संगीत भरेका बजगाई राम्रो गायक पनि हुन् । उनि नेपाली गीत संगीत सम्वन्धि काम गर्ने थुप्रै संघ संस्थाहरुमा समेत आवद्ध रहेका छन् । हाल उनि राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले संगीतकर्मी राजेन्द्र बजगाईसंग गरेको कुराकानी

० नेपाली गीत संगीतको क्षेत्रलाई यहाँले कसरी विष्लेषण गर्नुहुन्छ ?
पहिलो कुरा त बिश्वमै सबैभन्दा छिटो र सहज तरिकाले बुझिने भाषा गीतसंगीत नै हो, नेपाली गीतसंगीतमा पनि पछिल्लो समयका पुस्ताहरु सिकेर बुझेर आउनुपर्छ भन्ने धारणाले गर्दा नेपाली गीतसंगीत पनि धेरै सुधारिएको छ । त्यो देन चाँही हाम्रा पुर्खा र अग्रजहरुले गर्दा भएको हो । हामीले उहाँहरुलाई यसको श्रेय दिनै पर्छ । हाम्रो नेपाली गीतसंगीत लोकबेसमा बढी चल्ने गर्दछ र त्यसैगरी तयार पनी गरिन्छ । हुन त विभिन्न देशहरुमा आ–आफ्नै मौलिकता त पक्कै हुन्छ तर नेपालको परिबेशमा मौलिकताले चाँही धेरै महत्व राख्छ ।

० गायक तथा संगीतकर्मीको रुपमा स्थापित हुनको लागी यहाँले कत्तिको संघर्ष गर्नुभयो ?
पहिलो कुरा त म एक संगीतकार हुँ । अन्य गायक, गीतकार, संगीत संयोजन गर्ने संगितकारमा हुनुपर्ने गुण वा चीज हो । स्थापित हुनलाई सबैभन्दा पहिले हामीले गीत संगीतलाई पढ्नु पर्यो, सिक्नु पर्यो र त्यसको बारेमा पुर्ण रुपमा बुझ्नु पर्छ । त्यसमा समय त अबश्य नै लाग्छ । सिक्ने क्रममा कहिले सुख कहिले दुःख त हुन्छ नै । संघर्ष त धेरै नै गरियो । खासमा म मध्यम बर्गिय परिवारको भएर पनि होला आफैले घरको जिम्मेवारी बहन गर्नु पर्नेपनि थियो । त्यही समयमा संघर्ष भनेको नै जिवनको सिकाई रहेछ । अहिले त्यही संघर्षले मलाई यहाँ सम्म पुर्याएको छ । जसले संघर्ष गर्छ र उसैले बुझ्न सक्छ त्यही ब्यीक्त नै आफुले गरेकोे काममा सफल हुन सक्छ भन्ने चाँही मेरो संघर्षको सिकाई हो ।

० गायक/गायिकाहरुलाई कतिपय मेला महोत्सवहरुमा आयोजकहरुले बोले अनुसारको पारिश्रमिक दिंदैनन् भन्ने सुनिन्छ, के तपाईले यस्तो अनुभव गर्नुभएको छ त ?
पहिलो कुरा त म संगीतकार भएको नाताले महोत्सव वालाहरुसंग मेरो त्यति समन्वय हुँदैन र म खाशै चासो पनि राख्दिन तर पनि गायक गायिकाले महोत्सबमा बोले अनुसारको पारिश्रमिक नदिएको भन्ने चाँहि सुन्ने गरेको छु, तर त्यसमा महोत्सव आयोजक गायक गायिका विचको सम्झौतामा भर पर्दछ । महोत्सवमा गाउन बोलाईहाले भनेर फुर्केर जाने र पछि पारिश्रमिक दिएन भनेर रोईले गर्ने कार्य पनि राम्रो होईन । आयोजकहरुले पनि बोलाईसके पछि बोल कबुल अनुसार पारिश्रमिक दिनु पर्दछ । अर्को महत्वपुर्ण कुरा के हो भने गायक गायिकाहरुले पनि आफुले स्टेजमा गायको गीतहरुको स्रष्टाहरुलाई रोयल्टी दिनु पर्छ भन्ने कुरा पनि सम्झन आबश्यक छ । त्यो कुरामा यदि गायक गायिकाले आफुले रोयल्टी बुझाएको छैन भने बुझाउनु नै पर्ने हो । त्यही अनुरुप गायक गायिकाले आफ्नो डिल गर्नु पर्यो । अब महोत्सब पाए भन्दैमा उर्फेर जाने नबुझी जानेहरुलाई आयोजकले पैसा नदिन पनि सक्छ नि । पहिला हामी सर्जक स्रष्टानै यो कुरामा संयम हुन जरुरी छ जस्तो लाग्छ मलाई । यसो गरेपछि कुनै पनि महोत्सबले गायक गायिकालाई र स्रष्टालाई यस्तो कार्य गर्न सक्दैन भन्ने मलाई लाग्छ ।

० तपाई आफैले संगीत गर्नुभएको कुन गीतबाट बढी सन्तुष्ट हुनुहुन्छ ? र किन ?
मेरो मैले गरेको सृजनाहरु त सबै आफुलाई राम्रो नै लाग्छ । कुरा सन्तुष्टीको आयो । पहिलो कुरा त गीत संगीत आफुलाई मनबाट नै राम्रो लाग्नु पर्यो । त्यही हो सन्तुष्टी, हीट हँुदैमा र यु– ट्युवमा भ्यूज आउदैमा त्यो गीत संगीतमा सन्तुष्टी मिल्छ भन्ने पनि छैन । गीत संगीत भनेको एउटा खोज हो । यसको कुनै नियम हुदैन जसले जसरी गीत संगीतलाई मर्यादित गरेर खोज्न सक्छ त्यो खोजमा सफल हुन सक्छ त्यही हो सन्तुष्टी । म आफ्नो श्रृजनाहरुवाट पुर्णरुपमा सन्तुष्ट छु ।

० विभिन्न संघसंस्थाको नेतृत्व तहमा रहेर काम पनि गरिरहनु भएको छ त्यसको अलवा संगीत कर्ममा पनि निरन्तर लागि रहुन भएको छ, समय कसरी मिलाउनु हुन्छ ?
अब गीत संगीत एउटा खोज हो यसलाई एउटा मर्यादित बनाउन लाई एउटा टीमको जरुरी हुन्छ । त्यो टीम भनेको संघ संस्था हो । अब गीत संगीतमै हामी होमिएका संगीतकर्मीहरुले हातेमालो गर्नुपर्ने हुन्छ । गीत संगीतमै लागेर सम्पुर्ण स्रष्टाहरु एक भएनौ भने हामीले हाम्रो क्षेत्रकोे मर्यादा र खोजलाई राम्रो र फरक बनाउन सक्दैनौ । हाम्रो कर्म भनेको गीतसंगीनै हो । अर्को कुरा समय भनेको आफ्नो रफ्तारमा चलिरहने कुरा हो त्यो हामीले समयलाई पछ्याउदै जाँदा मिलाउने कुरा हो । संघ संस्था भनेको पारिवारिक जमघट हुने एउटा घर पनि हो । घरमा सांगीतिक कुरामा मिल्दो जुल्दो सबले आ–आफ्नो काम गर्नु नै एउटा संघ संस्था हो । त्यसकारण मलाई व्यक्तिगत रुपमा समयको अभाव छैन, जहाँ जता काम गरेपनि नेपाली सांगीतिक क्षेत्रको प्रवद्र्धनको लागी काम गर्ने भएकाले समय मिलाउन सकिन्छ ।

० तपाइको विचारमा आम मानिसहरु र कलाकारहरुको जिवनमा फरक के रहेछ ? र किन ?
संसारमा बिना कलामयको ब्यक्तिनै हुदैन उ सँग केही न केही अबश्य हुन्छ । त्यही हो कसैसँग धेरै कसैसँग थोरै हुने कुरा हो । धेरै भएको मानिसलाई छिटो चिन्न सकिन्छ उसको हाउभाउमा धेरै कलामय भएको ब्यक्तिले अनुुशरण गर्छ । त्यसै क्रममा कलाकारिताले आम मानिसहरुमा धेरै नै प्रभाव बनाएको पनि देख्न सक्छौ कलाकारिता एउटा बाटो पनि हो । आम मानिसहरुका लागि मार्ग निर्देशन गर्ने माध्यम पनि हो । कलाकारले जे गर्योआम मानिसले पनि त्यही गर्ने कोशिस गर्छ । त्यसैले कलाकारहरुले समाज, राष्ट्र र देशलाई प्रतिनिधित्व गर्ने काम पनि गर्ने हुँदा धेरै नै संयम हुन जरुरी छ । एउटा कलाकार समाजको चित्र पनि हो, कलाकारले आफ्नो कलाको माध्यम बाट धेरैलाई परिबर्तन गर्ने हुँदा चाहे ब्यक्ति होस, चाहे समाज या देश होस, चाहे सुख होस, चाहे दुःख होस कलाकारहरुले धेरै ख्याल गरेर र अनुसन्धान गरेर आफ्नो कलालाई जनमानसमा सन्देश प्रवाह गर्नुपर्ने भएकाले धेरै महत्वपुर्ण कुरा पनि हो

० गायक/गायिका तथा प्रस्तोताहरु के रोयल्टीका हकदार हुन् ? प्रस्तोताहरुकै कारणले सर्जक तथा श्रष्ठाहरुलाई रोयल्टी लगायतका विषयमा अन्याय भए जस्तो लाग्दैन तपाईलाई ?
पहिलो कुरा त रोयल्टी भनको केहो भन्ने कुरा बुझ्नु पर्ने हुन्छ । जसले सृजना गर्यो त्यो रोयल्टीको हकदार हो । त्यो सम्पुर्णमा लागु हुन्छ । यदि गीतसंगीतको सवालमा भन्ने हो भने गीतकार र संगीतकार नै पहिलो रोयल्टीको हकदार हो । किन भने गीत र संगीत भनेको सर्जकहरुको बौद्धिक सम्पती पनि हो । गीतकार वाट श्रृजना भएको शव्दलाई संगीत नभरे सम्म त्यसलाई मृतशरिरकै रुपमा वुझ्ने गरिन्छ, जव त्यसमा त्यसमा संगीत भरिन्छ त्यो शब्दले मुर्त रुप पाउँदछ । त्यसकारण गीतकार र संगीतकारद्धारा सृजित सृजनालाई बौद्धिक सम्पतीको रुपमा लिईएको हो । अर्को कुरा आयो प्रस्तोताको यसमा के सृजना हुन्छ ? त्यो भनेको संगीतकारले जसरी तयार गरेको हुन्छ त्यसैमा गाउने अथवा प्रस्तुती दिने कुरा हुन्छ । आफुले सृजना नगरी अरुको सृजनामा हक लाउने कुरा चाँही गलत हो । यो त हामी सबै एउटै परिवार भएको हुँदा हाम्रो रोयल्टी बाँढीचँुडी खाउँ नेपालको परिबेशमा सबै बाँच्नुपर्छ भनेर राखिएको जस्तो लाग्छ मलाई । सृजनागर्ने कुरा चानचुने चाँही होईन । एउटा उदाहरण भन्न चाहे तपाईले जन्माएको बच्चाको जति तपाईलाई माया हुन्छ । अरु पाल्ने र बोक्नेलाई त हँुदैन नी ।

० तपाईको विचारमा प्रस्तोताहरुले सर्जक तथा श्रष्ठाहरुको श्रृजनालाई विभिन्न ठाउँमा प्रयोग गरे वापत उनिहरुले प्राप्त गरेको पारिश्रमिकवाट निश्चित रकम रोयल्टी वापत सर्जक तथा श्रष्ठाहरुलाई दिनु पर्ला जस्तो लाग्छ कि लाग्दैन ? लाग्दैन भने किन ?
तपाईले उठाउनु भएको यो महत्वपुर्ण कुरा हो । स्रष्टालाइ र सर्जकलाई त कुनै पनि कार्यक्रममा पनि बोलाइदैन । त्यहाँ प्रस्तोताहरुलाई मात्र नै बोलाइन्छ किन की त्यहाँ प्रस्तुत गर्ने भएका कारणले हो । अरुले उत्पादन गरेको चिजमा आफ्नो स्वामित्व अरुले गर्नु भनेको गलत कुरा हो । अहिले प्रस्तोताहरुले पनि बुझि सक्नुभएको छ । सृजनाको पहिलो हक भनेको सर्जकको हो । यसको लागी प्रस्तोताहरुले पनि आयोजकहरु संग समन्वय गर्न जरुरी हुन्छ । स्रष्टाहरुको महत्व बुझौ भने हामीले धेरै दुःख पनि पाउनु पर्ने हँुदैन । सम्पुर्ण ठाँउमा स्रष्टाका सृजनाहरु प्रयोग गर्नेहरुले पनि यो कुरा बुझ्न जरुरी छ । सृजना नै स्रष्टाको लगानी हो । त्यो लगानीलाई सबै आफै हडप्नु हुदैन स्रष्टालाई पनि बुझ्नु पर्ने जरुरी छ भन्ने कुरा मलाई लाग्छ । र यो पक्का पनि तपाइहरुले पनि बुझ्नु हुनेछ । स्रष्टाको सम्मान र स्रष्टाको रोयल्टीको हकदार बनाउनु हुन्छ भन्ने पनि लाग्छ ।

० नेपालमा कलाकारमात्रै भएर जिविकोपार्जन सम्भव छ ?
गरिरहनु भएको पनि छ र हामीले पनि गरिरहेको कुरा पनि हो । सृजनामा मेहेनत र खोज गरेर गर्नु भयो भने पक्कै पनि यो मैले राखेको कुरा सम्भव हो । यसलाईै अलिकती सरकारी तवरले ब्यबस्थित र यसमा ध्यान दिएमा अझ राम्रो हुन्छ । र यो एकदम पुर्ण तपस्याबाट मिल्ने कुरा पनि हो । कलाकारिताको सही नियम र कार्यन्वयन गर्न सके र कलाकारितालाई सुरुमा सिक्ने बाताबरण तयार गर्नसके अझ धेरै ब्यबसायीहरु बिचमापनि कलाकारिताको महत्व बढ्ने थियो ।

० अन्त्यमा…… ?
गीत संगीतमा लाग्दा पढेर बुझेर र खोज गरेर मर्यादित बनेर आउनु होला । स्रष्टाको हक अधिकार कसैले खोसेर र धम्काएर लिन वा खान सक्दैन भन्ने मलाई लाग्छ । नेपाली गीत संगीतलाई मर्यादित र सवल बनाउन सबै मिलेर काम गरौं । अरुको हक प्रयोग गर्दा ध्यान दिउँ यहि नै महत्वपुर्ण बिषय रहने छ । –नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..