काभ्रेपलान्चोक  – सानिमा बैंक लिमिटेडले कृषि नगर पाँचखालमा नयाँ शाखाको शुभारम्भ गरेको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नु भएको हो । पाँचखालको शाखा ९६ औं रहेको बैंकले जनाएको छ ।
शाखाको उद्घाटनपछि नगर प्रमुख महेश खरेलले भन्नुभयो, ‘१८ वर्ष अगाडि गैर आवासीय नेपालीहरु तथा व्यापारिक वर्गबाट राष्ट्रियस्तरको विकास बैंक हुँदै सन् २०१२ मा सुरु भएको ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा पाँचखाल नगरमा सुरु भएकोमा हामी खुशी भएका छौं । अन्य वाणिज्य बैंकहरुबाट प्रदान गरिने बैकिङ्ग सेवाभन्दा पृथक तरिकाका सेवासुविधाहरु उपलब्ध गराएर पाँचखालमा सेवा दिनु हुनेमा आशावादी रहेका छौं । पाँचखाल कृषिमा आधारित नगर भएको हुँदा बैंकले यहाँका साना तथा मझौला कृषकहरुका साथै व्यावसायिक कृषकहरुलाई कृषि कर्जालगायतका सुविधाहरु छिटो छरितो र झन्झटसहित तरिकाले उपलब्ध गराउन अनुरोध गर्दछु’, उहाँले थप्नु भयो ।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले सानिमा बैंकले ७ वटै प्रदेशमा ९६ वटा शाखा तथा २८ वटा एक्सटेन्सन काउन्टर र १०३ वटा एटिएममार्फत कर्पाेरेट तथा खुद्रा ग्राहकहरुलाई बैंकिङ तथा वित्तीय सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘पाँचखाल शाखाले कृषिक्षेत्रमा लगानीलाई विशेष प्राथमिकता दिने नै छ । त्यसबाहेक वाणिज्य बैंकले प्रदान गर्ने सबै सेवा सुविधाहरु पाँचखाल शाखाबाट प्रदान गरिने छ । चाँडै नै एटिएम सुविधा पनि उपलब्ध हुनेछ’, गुरागाईंले उल्लेख गर्नु भयो ।
पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले पाँचखालमा उद्योग र व्यवसायहरु फस्टाउने क्रमसँगै बैंक तथा वित्तिय संस्थाहरुको आकर्षण बढ्न थालेकोमा प्रसननता व्यक्त गर्नु भयो । बैंकको उपत्यकाका शाखाहरु हेर्ने प्रमुख कबिन्द्र पालले स्वागत गर्नु भएको शुभारम्भ समारोहमा बनेपा शाखा प्रबन्धक सञ्जय सापकोटा र पाँचखाल शाखा प्रबन्धक सुरेश घिमिरेलगायतले पाँचखालमा बैंकको शाखा स्थापनाको औचित्य र प्रदान गरिने सेवाहरुबारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा पाँचखाल नगरपलिकाका वडा वडाअध्यक्षहरु सुन्दर अधिकारी र बालकृष्ण सापकोटाका साथै पाँचखाल बजारका व्यवसायीहरुलगायत कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly