
काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित रसुवा जिल्लाको कालिका गाउँपालिकाका बासिन्दाका लागि नेपाल रेडक्रस सोसाइटीले राहत, पुनर्निर्माण तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्ने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रमुख उपस्थितिमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त सहमति भएको हो।

सहमति अनुसार नेपाल रेडक्रस सोसाइटीले अल्पकालीन राहतका साथै कालिका गाउँपालिकामा दिगो र दीर्घकालीन योजनाहरू बनाएर पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरू अघि बढाउने छ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शारदाकुमार न्यौपाने (सरोज) का अनुसार बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई पुनर्जीवन दिन र स्थानीय पूर्वाधारहरूको पुनर्स्थापनाका लागि रेडक्रसले एकीकृत योजनासहित काम गर्नेछ।


सम्झौता तथा सहमति कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, कालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष सन्दिप पौडेल, वडा नं. १ का अध्यक्ष दावा तामाङ, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति डा. विशाल भण्डारी तथा नेपाल रेडक्रस सोसाइटी रसुवाका उपसभापति नीलनाथ आचार्य लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भोटेकोशीमा आएको भीषण बाढीपछि नेपाल रेडक्रस सोसाइटीले रसुवा जिल्लाका प्रभावित क्षेत्रहरूमा राहत तथा उद्धारका महत्त्वपूर्ण कामहरू निरन्तर गर्दै आएको छ। यसअघि दसैँ अगावै प्रभावित परिवारहरूलाई राहत स्वरूप नगद वितरण समेत गरिसकिएको रेडक्रसले जनाएको छ।

