
पनौती – सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा शनिबार पनौतीस्थित ताम्राकार पार्टी भेन्यूमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हरिचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) बनेपाका सचिव तथा संस्थाका निर्वाचन समिति संयोजक प्रकाश बन्जारा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

सभामा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, प्रमुख सल्लाहकार, कर्मचारी तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रविण दाहालले गर्नुभएको थियो।




१९औँ वार्षिक साधारण सभाको अवसरमा फरएभर डेन्टो केयर प्रालिको प्राविधिक सहयोगमा उपस्थित सदस्यहरूका लागि दन्त शिविरसमेत सञ्चालन गरिएको थियो। सभामा सदस्यहरूको सक्रिय सहभागिताले संस्थाप्रतिको विश्वास, अपनत्व र सहकारी अभियानप्रतिको उत्साहलाई थप उजागर गरेको थियो।
सभामा अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विकुनारायण प्रजापतिद्वारा आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक हिरादेवी श्रेष्ठद्वारा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा सचिव प्रविण दाहालद्वारा वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो। प्रतिवेदनमा संस्थाको वित्तीय अवस्था, सेवा विस्तार, उपलब्धि, चुनौती तथा भावी कार्ययोजनाका विषय समेटिएका थिए।
त्यसैगरी, चार्टर्ड एकाउन्टेन्ट सुनिल श्रेष्ठबाट एनएफआरएस लेखामानअनुसार तयार गरिएको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू सभामा प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदन तथा प्रस्तावमाथि सदस्यहरूबीच छलफल गरी आवश्यक सुझावसहित नियमानुसार स्वीकृत गरिएको थियो।
संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिका अनुसार २०८३ असार मसान्तसम्म संस्थामा कुल ३ हजार ५८ जना शेयर सदस्य आबद्ध रहेका छन्। उक्त अवधिमा संस्थाको चुक्ता शेयर पुँजी १ करोड ९५ लाख ३ हजार रुपैयाँ, निक्षेप २३ करोड ६३ लाख २२ हजार ६२८ रुपैयाँ ५३ पैसा तथा सदस्य कर्जा लगानी १९ करोड ८४ लाख ५३ हजार ८९३ रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा तथा विभिन्न कोषमा १ करोड २६ लाख ५८ हजार ८९२ रुपैयाँ १२ पैसा र संस्थाको कुल वासलात २७ करोड ५४ लाख ४६ हजार ९६२ रुपैयाँ ४८ पैसा रहेको छ। संस्थाको आफ्नै जग्गासमेत रहेको उहाँले जानकारी दिनुभयो।
वि.सं. २०६४ सालदेखि सहकारी अभियानमा निरन्तर क्रियाशील रहँदै आएको संस्थाले बचत तथा ऋण कारोबारका अतिरिक्त बहुउद्देश्यीय सेवाको अवधारणालाई आत्मसात् गर्दै सदस्यहरूलाई विभिन्न वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ। संस्थाले विभिन्न सेवा केन्द्रमार्फत सदस्य सेवा विस्तार गर्नुका साथै सहकारी सुपथ मूल्य पसल, रासायनिक मल बिक्री वितरण, कर्जा बीमा तथा सदस्यहरूको स्वास्थ्य उपचार खर्चमा सीमित सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

‘दीगो संस्था, सक्षम र सुरक्षित सदस्य’ भन्ने दूरदृष्टिलाई आत्मसात् गरेको संस्थाले आधुनिक प्रविधिको प्रयोग, सदस्य केन्द्रित सेवा, उत्पादनमूलक क्षेत्रमा लगानी, उद्यमशीलता प्रवर्द्धन तथा सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ आफ्ना गतिविधि अगाडि बढाउँदै आएको जनाएको छ। संस्थाले आर्थिक पारदर्शिता, सुशासन, सदस्य हित तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यसअघि संस्थाले पनौती नगरपालिकाबाट ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बहुउद्देश्यीय विधातर्फ उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान तथा नगद पुरस्कार प्राप्त गरेको थियो।
त्यस्तै, जिल्ला सहकारी संघको ४५औँ वार्षिक साधारणसभाबाट बहुउद्देश्यीय सहकारी संस्थामध्ये सहकारी व्यवसाय पुरस्कार २०८३ सहित सम्मान तथा नगद पुरस्कार प्राप्त गर्न सफल भएको थियो। यी उपलब्धिले संस्थाको संस्थागत पहिचान र सदस्यहरूको योगदानलाई थप उत्साहित बनाएको जनाइएको छ।
सभाको अन्त्यमा अध्यक्ष श्रेष्ठले संस्थाको प्रगति र सफलतामा निरन्तर साथ, सहयोग तथा विश्वास प्रदान गर्ने सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, कर्मचारी, नियामक निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा संस्थालाई अझ सबल, पारदर्शी, उत्तरदायी तथा सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

१९औँ वार्षिक साधारणसभामार्फत सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विगतका उपलब्धिहरूको समीक्षा गर्दै सदस्यहरूको समृद्धि र संस्थाको दिगो विकासका लागि सामूहिक सहकार्य, एकता र विश्वासलाई अगाडि बढाउने लक्ष्य लिएको जनाएको छ ।

