

काठमाडौं राजन थापा
सुनका गहना चोरी प्रकरणमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिकाको बालाजु क्षेत्रबाट भएको सुन चोरी घटनामा संलग्न रहेको आरोपमा एक जना व्यवसायीलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मिति २०८२/०९/०७ गते बिहान करिब ११:०० बजे काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित एक स्थानबाट सुनका गहना चोरी भएको भन्ने उजुरी प्राप्तभएको थियो। उजुरी प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै सम्भावित संलग्न व्यक्तिहरूको खोजी तथा पहिचान प्रक्रिया अघि बढाएको थियो।


प्रहरीले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, स्थानीय स्रोत तथा सूचनाको आधारमा अनुसन्धानलाई तीव्र बनाउँदै जाँदा चोरीमा संलग्न व्यक्तिको पहिचान गर्न सफल भएको जनाएको छ। अनुसन्धानकै क्रममा चोरी गरिएका सुनका गहना किनबेच तथा लुकाइछिपाइ गरिएको आशंकामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति डोलखा जिल्ला भिमेश्वर नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लुमा ‘सिता ज्वेलर्स’ सञ्चालन गर्दै आएका ५४ वर्षीय बिकास लक्ष्मी रहेका छन्। उनलाई मिति २०८२/०९/०८ गते दिउँसो करिब १२:०० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिको साथबाट चोरी गरिएका विभिन्न सुनका गहना पनि बरामद गरिएको छ। बरामद गरिएका सामग्रीमा सुनकाे नेक्लेस थान १४,सुनका लकेट ९ थान,सुनका मंगल सुत्र८ थान, सुनका नौगेडी ५ थान तथा पिस लकेट ३ थान रहेका छन्। बरामद गरिएका गहनाहरू चोरी भएको उजुरीमाउल्लेखित विवरणसँग मेल खाएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानलाई अझै विस्तार गरेको छ।
उक्त विषयमा जारी गरिएको प्रेस विज्ञप्ति प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रहरी प्रवक्ता तथा सूचना अधिकारीद्वारा सार्वजनिक गरिएको हो। प्रहरीका अनुसार पछिल्लो समय शहरीक्षेत्रमा सुन तथा बहुमूल्य सामग्री चोरीका घटनाहरू बढ्दै गएको भन्दै यस्ता घटनाको नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइएको छ।
स्थानीय बासिन्दाहरूले बालाजु वृत्तका प्रहरीहरूको सक्रियता र छिटो अनुसन्धान कार्यप्रति प्रशंसा व्यक्त गर्दै यसले अपराध नियन्त्रणमा सकारात्मक सन्देश दिएको बताएका छन्।


