
काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी जिल्ला सचिव गुणराज मुक्तानले पाएका छन्। जिल्ला सभापति तीर्थ लामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मुक्तानलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।

जिल्लाका दुई उपसभापति रमेश हुमागाईं र ठाकुरप्रसाद न्यौपाने देउवा समूहमा लागेपछि जिल्ला सचिव मुक्तानलाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

नेपाली कांग्रेसको विधानअनुसार माथिल्लो पदमा उम्मेदवारी दिएपछि तल्लो पद स्वतः रिक्त हुने व्यवस्थालाई मध्यनजर गर्दै सभापति लामाले आफूलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको मुक्तानले जानकारी दिएका छन्।


बागमती प्रदेशसभा सदस्यसमेत रहेका निवर्तमान जिल्ला सभापति तीर्थ लामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट अत्यधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
लामा केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेस काभ्रेको जिल्ला नेतृत्वको जिम्मेवारी मुक्तानको काँधमा आएको छ। अब जिल्लामा पार्टीका सांगठनिक गतिविधि सञ्चालन तथा नेता–कार्यकर्ताबीच समन्वय गर्ने जिम्मेवारी उहाँको रहनेछ।

