
बनेपा – बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाका एकाइ बैठकबाट भएका निर्णयलाई एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो।



सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका, २०७६ बमोजिम संस्थाले एकै समयतालिकामा चारवटा एकाइ बैठक आयोजना गरी समान कार्यसूचीमा छलफल गरेको थियो। असोज २४ गते सम्पन्न ती बैठकमा कुल सदस्य संख्याको ५९.४२ प्रतिशत सदस्यको उपस्थिति रहेको संस्थाले जनाएको छ।


सभामा प्रस्तुत अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ३४ लाख ९९ हजार ६९७ रुपैयाँ १७ पैसा सञ्चालन मुनाफा आर्जन गरेको छ। सो अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब २६ करोड ६६ लाख ९४ हजार ७९९ रुपैयाँ १५ पैसा पुगेको छ।
त्यस्तै, संस्थाको बचत रकम १ अर्ब ८८ करोड ३५ लाख ९७ हजार ३१० रुपैयाँ ७७ पैसा, शेयर पुँजी १४ करोड ५५ लाख २ हजार ९०० रुपैयाँ, संस्थागत पुँजी १९ करोड ८६ लाख ३७ हजार ८२ रुपैयाँ ७० पैसा तथा ऋण लगानी १ अर्ब २८ करोड ४७ लाख ८८ हजार ५२० रुपैयाँ ४३ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सदस्यलाई ६ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै, संरक्षित पुँजी फिर्ता कोषमार्फत सदस्यहरूले बचत र ऋणमा गरेको योगदानका आधारमा दुवै शीर्षकमा २/२ प्रतिशतका दरले अतिरिक्त लाभ वितरण गर्ने निर्णयसमेत गरेको छ।
सभाले सदस्यहरूको स्वास्थ्योपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि पनि पारित गरेको छ। उक्त व्यवस्था साधारण सभा सम्पन्न भएसँगै लागू हुने गरी अस्पतालमा भर्ना भई उपचार गराइरहेका सदस्यलाई ३ हजार रुपैयाँ स्वास्थ्योपचार सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।
संस्थाले यसअघि नै प्रसूति भएका महिला सदस्यलाई ६ हजार ५०० रुपैयाँ बराबरको मातृत्व सुरक्षा सहयोग, १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा तथा घातक रोग लागेका सदस्यलाई २० हजार रुपैयाँसम्म उपचार सहयोग उपलब्ध गराउँदै आएको छ। त्यसैगरी, सदस्यको मृत्यु हुँदा परिवारलाई ३० हजार रुपैयाँ काजकिरिया खर्च र प्राकृतिक प्रकोपबाट प्रभावित सदस्यलाई २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ।

सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै सहकारीले नाफा वितरणमा मात्र सीमित नभई विभिन्न परिस्थितिमा सदस्यलाई सहयोग पुग्ने कार्यक्रम अघि बढाएको जनाएको छ। समानान्तर शेयर कायम गर्ने नीतिसहित सदस्यहरूले स्वास्थ्योपचार, दुर्घटना, मातृत्व तथा अन्य कठिन परिस्थितिमा समेत लाभ लिन सक्ने व्यवस्था संस्थाले गर्दै आएको छ।


