
बनेपा – काभ्रे लेडी जेसीजको आतिथ्यतामा बनेपामा आयोजना हुन लागेको नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन–२०२६ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। ‘सक्रिय नागरिकको माध्यमबाट सकारात्मक परिवर्तन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै महिला नेतृत्व विकासमा सक्रिय काभ्रे लेडी जेसीजले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरेको हो।

ऐतिहासिक तथा सांस्कृतिक नगरी बनेपामा असोज २ र ३ गते हुने सम्मेलन स्मार्ट पार्टी प्यालेस, बनेपामा बिहान ८ बजेदेखि सुरु हुनेछ । नेपाल जेसीजको वार्षिक कार्यतालिका तथा वैधानिक व्यवस्थाअनुसार आयोजना हुने सम्मेलनमा नेपाल जेसीजअन्तर्गतका चारै क्षेत्र तथा १८६ शाखाबाट ६०० भन्दा बढी युवा प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यस वर्ष नेपाल जेसीजले अघि सारेको ‘प्रोजेक्ट संकल्प २०२६’ अन्तर्गत नेतृत्व विकास, युवा सशक्तीकरण, सामाजिक उत्तरदायित्व र सकारात्मक रूपान्तरणलाई सम्मेलनका प्रमुख विषय बनाइएको छ। ‘Aim, Act, Achieve’ को अवधारणामार्फत युवालाई लक्ष्य निर्धारण, त्यसको प्रभावकारी कार्यान्वयन र परिणाम हासिल गर्ने संस्कारतर्फ प्रेरित गर्ने उद्देश्य सम्मेलनको रहेको छ।


दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न सेमिनार, वक्तृत्वकला प्रतियोगिता, प्रकरण गोष्ठी तथा नेतृत्व र क्षमता विकाससम्बन्धी प्रशिक्षण सञ्चालन हुनेछन्। मोटिभेसन, डिजिटल मार्केटिङमा जेनेरेटिभ एआई, वित्तीय साक्षरता तथा लगानी, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलगायतका विषयमा कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। सम्मेलनमा संसदीय बैठक प्रणालीअनुसार सभा सञ्चालन गरिनेछ।
सम्मेलनको दोस्रो दिन बनेपाको ऐतिहासिक लायकु दरबार क्षेत्रदेखि चण्डेश्वरी मन्दिर प्राङ्गणसम्म परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित ‘शान्ति पदयात्रा’ आयोजना गरिनेछ। पदयात्रामार्फत बनेपाको पर्यटन, संस्कृति, स्थानीय पहिचान तथा अतिथि सत्कारलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ।
यसैबीच, भोटेकोशी क्षेत्रमा भएको बाढीपहिरोजस्ता प्राकृतिक विपद्को संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सम्मेलनलाई मानवीय सेवासँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ। जेसीजको मूल दर्शन ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने भावनाअनुसार विपद् व्यवस्थापन, पीडितको पुनर्स्थापना तथा समुदायमा सकारात्मक परिवर्तनका लागि युवाको सक्रिय सहभागिता बढाउने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ।
काभ्रे लेडी जेसीजकी सम्मेलन निर्देशक जेसी सुमित्रा श्रेष्ठ बादे र शाखा अध्यक्ष जेसी मनिका शाक्यद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सम्मेलनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने आयोजक समिति, काभ्रे जेसीजका अग्रज, पूर्वअध्यक्ष, कार्यसमिति, व्यावसायिक क्षेत्र तथा स्थानीय निकायप्रति आभार व्यक्त गरिएको छ।

