
बनेपा, काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि नेपाली कांग्रेस बनेपा नगर कार्यसमितिले रु. २ लाख २३ हजार ३६४ आर्थिक सहयोग गरेको छ।

बनेपा नगर कार्यसमितिले राहतका लागि संकलन गरेको उक्त रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुर पुगेर पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई हस्तान्तरण गरिएको हो। 



नेपाली कांग्रेस केन्द्रीय कार्यालयले स्थापना गरेको केन्द्रीय विपत् कोषमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग उपलब्ध गराउने उद्देश्यले बनेपा नगर कार्यसमितिले राहत कोष स्थापना गरी रकम संकलन गरेको थियो।
नगर सभापति महेश कुमार कर्माचार्यका अनुसार नगरअन्तर्गत विभिन्न तह र पदमा रहेका ५४ जना पदाधिकारी, नेता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूबाट रकम संकलन गरिएको हो।
सहयोग रकममध्ये नगर सभापति महेश कुमार कर्माचार्य लगायत विभिन्न व्यक्तिहरूले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरेका छन्।
रकम हस्तान्तरण गर्दै नगर सभापति कर्माचार्यले विपद्को समयमा मानवीय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे। उनले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै सानो सहयोगले पनि प्रभावित परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे

