विपद्मा राहतदेखि स्वास्थ्य सेवासम्म : रोल्पाली चेली फाउन्डेसनको मानवीय अभियान

 

रोल्पा । बाढीपहिरोले जनजीवन प्रभावित बनाइरहेको बेला जोखिम मोलेर पीडितको घरदैलोसम्म राहत पुर्‍याउँदै आएको रोल्पाली चेली फाउन्डेसनले विकट क्षेत्रका महिलाको स्वास्थ्य सेवामा समेत उल्लेख्य योगदान दिएको छ। विपद्को समयमा खाद्यान्न तथा लत्ताकपडा वितरणदेखि विकट गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनसम्म फाउन्डेसनले मानवीय सेवाको अभियानलाई निरन्तरता दिएको हो।

बिज्ञापन

बर्खायाममा रोल्पाका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै कतिपय परिवार विस्थापित भएका छन्। यही कठिन परिस्थितिका बीच फाउन्डेसनले लुङ्ग्री गाउँपालिकालगायत विभिन्न प्रभावित क्षेत्रमा पुगेर झण्डै लाखौँ रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको जनाएको छ।

कठिन सडक र वर्षाको समेत पर्वाह नगरी लामो दूरी पार गर्दै पीडित परिवारको घरदैलोसम्म पुगेको फाउन्डेसनकी अध्यक्ष यमुना केसीले बताइन्। उनका अनुसार विपद्को समयमा पीडितको पीडामा साथ दिनु सामाजिक संस्थाको दायित्व हो।
“बाढीपहिरोले घरबार गुमाएका परिवारको अवस्था नजिकबाट देख्दा निकै पीडा हुन्छ। बाटो कठिन थियो, वर्षा भइरहेको थियो, तर पीडित परिवारको अनुहार सम्झिएपछि हाम्रो यात्रा रोकिएन। सहयोग सानो होस् वा ठूलो, दुःखमा परेका आफ्नै दाजुभाइ–दिदीबहिनीको साथमा उभिन सक्नु नै ठूलो कुरा हो,” अध्यक्ष केसीले भनिन्।

राहत अभियानसँगै फाउन्डेसनले स्वास्थ्य सेवाबाट टाढा रहेका महिलालाई लक्षित गर्दै लिवाङ नगरपालिका–४ मा पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ। फाउन्डेसनको आयोजना तथा भक्तपुर इन्टरनेशनल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा झण्डै ५०० महिलाले नाम दर्ता गरी स्वास्थ्य परीक्षण तथा परामर्श लिएका छन्।

शिविरमा महिलाको स्वास्थ्य परीक्षणसँगै पाठेघर तथा स्तनसम्बन्धी समस्याको प्रारम्भिक पहिचान, स्वास्थ्य परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको थियो। परीक्षणका क्रममा थप जाँच आवश्यक देखिएका केही महिलालाई सम्बन्धित अस्पतालमा गएर आवश्यक परीक्षण तथा उपचार गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

फाउन्डेसनकी अध्यक्ष केसीले करिब १८ घण्टाको लामो यात्रा पार गरेर विकट क्षेत्रमा पुगेर महिलालाई निःशुल्क स्वास्थ्य सेवा दिन पाउँदा आफूहरू उत्साहित भएको बताइन्।

“स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दिदीबहिनीहरूको स्वास्थ्य परीक्षण गर्न पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। विकट क्षेत्रमा पुगेर सेवा दिन पाउँदा अझै धेरै सामाजिक काम गर्न प्रेरणा मिलेको छ,” उनले भनिन्।

समाजसेवी तथा सामाजिक अभियन्ता आशमा राउतले विकट क्षेत्रका महिलालाई घरआँगनमै स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउने अभियानले स्वास्थ्य चेतना बढाउनुका साथै समयमै समस्या पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

त्यस्तै, डा. अनु शाह शर्माले महिलामा देखिने पाठेघर तथा स्तनसम्बन्धी स्वास्थ्य समस्या समयमै पहिचान गर्न सके उपचार सहज र प्रभावकारी हुने बताइन्। शिविरमा थप परीक्षण आवश्यक देखिएका महिलालाई अस्पतालमा गएर चिकित्सकीय परामर्श लिन सुझाव दिइएको उनले जानकारी दिइन्।

स्थानीय महिलाहरूले विकट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क रूपमा प्राप्त गर्न पाउँदा आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्।

रोल्पाली चेली फाउन्डेसनले केही समयअघि पनि रोल्पामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो, जसबाट ५०० भन्दा बढी नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। स्वास्थ्य सेवा, विपद्का बेला राहत तथा अन्य सामाजिक कार्यमार्फत फाउन्डेसनले मानवीय सेवाको अभियानलाई निरन्तरता दिँदै आएको छ।

अध्यक्ष केसी स्वयं रोल्पाकी चेली हुन्। जन्मभूमिको पीडा र आवश्यकता आफ्नै भएको बताउँदै उनले आगामी दिनमा पनि समस्या परेका ठाउँमा पुगेर सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

“रोल्पा हाम्रो माटो हो, यहाँका दुःख र पीडा हाम्रा आफ्नै हुन्। सकेसम्म जहाँ समस्या छ, त्यहाँ पुगेर सहयोग गर्ने हाम्रो प्रयास निरन्तर रहन्छ,” उनले भनिन्।

बाढीपहिरोको जोखिमबीच पीडितको घरदैलोमा राहत पुर्‍याउनेदेखि विकट गाउँका महिलालाई स्वास्थ्य सेवा उपलब्ध गराउनेसम्मका अभियानले रोल्पाली चेली फाउन्डेसनलाई विपद्मा साथ र स्वास्थ्य सेवामा भरोसाको सामाजिक अभियानका रूपमा स्थापित गर्दै गएको देखिन्छ।