भारतका उपराष्ट्रपतिद्वारा नेपाली संगीतकर्मी सौरभ शर्मालाई सम्मान

काठमाडौं, भदौ ९ — युवा नेपाली संगीतकर्मी सौरभ शर्मालाई भारतको नयाँदिल्लीमा आयोजित ‘मल्हार २०२६’ कार्यक्रममा ‘युथ गुडविल एम्बेसडर अनर’बाट सम्मान गरिएको छ।

अगस्ट २१ मा आयोजित कार्यक्रममा भारतीय उपराष्ट्रपति सी. पी. राधाकृष्णनले शर्मालाई उक्त सम्मान प्रदान गरेका हुन्। अन्तरहृदय कनेक्ट ग्लोबल फाउन्डेसनले ‘मल्हार २०२६–कनेक्टिङ युथ विथ द सोल अफ क्लासिकल म्युजिक’ नारासहित कार्यक्रम आयोजना गरेको थियो।

बिज्ञापन

सम्मान प्रदान गर्दै उपराष्ट्रपति राधाकृष्णनले शर्मालाई बधाई दिँदै संगीत र संस्कृतिका माध्यमबाट युवाहरूले भारत र अन्य देशबीच मित्रताको सेतुको भूमिका निर्वाह गर्न सक्ने बताए।

उनले भने, “संगीत भारतको सबैभन्दा ठूलो सफ्ट पावरमध्ये एक हो। यसले भाषा र सीमाको अवरोध पार गर्दै अनुवादबिनै मानिसहरूबीच सम्बन्ध र आत्मीयता कायम गर्छ।”

कार्यक्रम भारतका राज्यसभा सदस्य तथा पूर्वविदेश सचिव हर्षवर्धन श्रृंगलाको संरक्षणमा आयोजना गरिएको थियो। श्रृंगलाले पनि सौरभ शर्माको भारतसँगको सम्बन्धबारे चर्चा गर्दै उनी पुट्टपर्तीस्थित श्री सत्य साई आश्रममा नियमित जाने गरेको र त्यहाँ पटक–पटक प्रस्तुति दिइसकेको बताए।

‘मल्हार २०२६’मा युवा दर्शकसँगै चर्चित शास्त्रीय कलाकारहरू, जसमा गायक पण्डित उल्हास काशालकर र कथक कलाकार पण्डित राजेन्द्र गंगानी लगायतको सहभागिता थियो।