जे बोल्छ सत्य-तथ्यले बोल्छ-ठुल्ठूलो स्वरमा कराउन र जथाभावी लेख्नै पर्दैन: किशोर श्रेष्ठ

काठमाडौं – वरिष्ठ पत्रकार तथा जनआस्था डटकमका प्रधान सम्पादक एवं अध्यक्ष किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत पत्रकारिता, सञ्चारमाध्यमको निष्पक्षता तथा समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने कानुनी कारबाहीबारे प्रश्न उठाएका छन्। श्रेष्ठले सामाजिक सञ्जालको प्रभाव र लोकप्रियताको आडमा केही विषयमा तत्काल प्रतिक्रिया जनाउने प्रवृत्ति बढ्दै गएको भन्दै पत्रकारले तथ्य र प्रमाणका आधारमा उठाएका प्रश्नलाई समेत दबाउने प्रयास हुने गरेको बताएका छन्।

श्रेष्ठले आफ्नो पोस्टमा पत्रकारले कुनै विषयमा प्राप्त प्रमाण र तथ्य सार्वजनिक गर्नु गलत हो कि जनतालाई सुसूचित गर्नु पत्रकारिताको दायित्व हो भन्ने प्रश्न गरेका छन्। उनले समाचार प्रकाशनकै आधारमा पत्रकारविरुद्ध मुद्दा दर्ता गर्ने र पक्राउसम्मको प्रक्रिया अघि बढाउने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।

बिज्ञापन

उनले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई स्मरण गर्दै उक्त घटनासँग सम्बन्धित भिडियोबारे आफूहरूविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता भएको उल्लेख गरेका छन्। सो विषयमा आफूहरूले प्रकाशित गरेको समाचार नक्कली तथा किर्ते भएको आरोप लगाइएको भए पनि पछि वरिष्ठ अधिवक्ता सुनिलकुमार पोख्रेलले चितवन पुगेर पत्रकारहरूसामु पुडासैनीको अन्तिम अवस्थाका दुई फरक भिडियो क्लिप भेटिएको स्वीकार गरेको श्रेष्ठको दाबी छ। उनका अनुसार तीमध्ये एउटा भिडियो ८ मिनेट २८ सेकेन्ड र अर्को ४ मिनेट ५८ सेकेन्डको रहेको थियो।

श्रेष्ठले विगतका विभिन्न विवादास्पद घटनाहरूको उदाहरण दिँदै सञ्चारमाध्यमले आरोप लगाइएको पक्षलाई समेत आफ्नो धारणा राख्ने पर्याप्त अवसर दिनुपर्ने बताएका छन्। उनले अस्टमी गुरुङको आत्महत्यासम्बन्धी घटनामा टेलिभिजनमार्फत हत्या भएको निष्कर्ष प्रस्तुत गरिएको तथा त्यसक्रममा अर्को पक्षको निजी संवाद सार्वजनिक गरिएको विषयमा समेत प्रश्न उठाएका छन्।

त्यस्तै, विदेशी पासपोर्ट त्याग्न लगाइएको प्रकरण, आत्महत्यालाई हत्या भन्दै सञ्चारमाध्यमबाट निरन्तर निष्कर्ष सुनाइएको विषय तथा चाबहिलस्थित ॐ अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको भनिएको घटनामा सञ्चारमाध्यमको भूमिकामाथि पनि उनले प्रश्न गरेका छन्। यी घटनामा कसरी र कुन आधारमा समाचार तथा निष्कर्ष प्रस्तुत गरिए भन्ने विषयमा निष्पक्ष समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

श्रेष्ठले विगतमा भएका घटनाहरूमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिकाबारे प्रश्न उठाउँदै पत्रकारितामा एउटै मापदण्ड सबैका लागि लागू हुनुपर्नेमा जोड दिएका छन्। उनले अरूमाथि प्रश्न उठाउँदा आफ्ना कमजोरी र विगतका गतिविधिमाथि पनि समान रूपमा समीक्षा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले आफ्नो पोस्टमार्फत पत्रकारितामा आग्रह–पूर्वाग्रहभन्दा तथ्य, प्रमाण र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। कमजोरी सबैबाट हुन सक्ने भन्दै उनले गल्ती स्वीकार गरेर सुधार गर्नु नै महानता भएको उल्लेख गरेका छन्।

श्रेष्ठले अन्ततः पत्रकारिताको मूल आधार सत्य, तथ्य र जनताको सूचनाको अधिकार भएको बताएका छन्। कसैले के भन्छ वा कसले के गर्छ भन्ने डरमा पत्रकारले तथ्यपूर्ण विषय सार्वजनिक गर्नबाट पछि हट्न नहुने उल्लेख गर्दै उनले जिम्मेवार, निष्पक्ष र प्रमाणमा आधारित पत्रकारिताको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उक्त अभिव्यक्तिले सामाजिक सञ्जालको प्रभाव, पत्रकारिताको स्वतन्त्रता, समाचारको विश्वसनीयता तथा सञ्चारमाध्यमको जवाफदेहिताबारे पुनः बहस सिर्जना गरेको छ। श्रेष्ठले उठाएका विभिन्न घटनासम्बन्धी दाबी र आरोपहरू भने सम्बन्धित प्रमाण, आधिकारिक अभिलेख तथा सम्बन्धित पक्षको प्रतिक्रियाबाट थप पुष्टि हुनुपर्ने देखिन्छ।

श्रेष्ठलाई समाचार ब्रेक गर्ने र व्यक्तिगत विषयमा सनसनीपूर्ण समाचार प्रकाशित  गर्ने पत्रकारको रुपमा परिचित छन् ।