सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायहरूलाई स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन अनुरोध गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँग भएको परामर्शका आधारमा कार्यालयले संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवाको प्रयोग बढाउन आग्रह गरेको हो।

बिज्ञापन

कार्यालयले आज जारी गरेको पत्रमा स्थानीय सीप तथा उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन भनिएको छ।

पत्रअनुसार अब स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा सम्भव भएसम्म नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ। यस्तै, सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्नसमेत आग्रह गरिएको छ।

सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ। साथै, उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधानसमेत पत्रमा उल्लेख छ।

सरकारी खरिदमा स्वदेशी उत्पादनको प्रयोग बढाउँदा नेपाली उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन मिल्नुका साथै रोजगारी सिर्जना र आयात घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।