
महेन्द्रज्योति उपशाखाद्वारा सरसफाइ अभियानमा आवश्यक सामग्री हस्तान्तरण


बासडोल । नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको आयोजनामा स्थानीय क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उपशाखाले सरसफाइका लागि आवश्यक सामग्रीसमेत हस्तान्तरण गरेको छ।


कार्यक्रमका क्रममा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाका सभापति मुकुन्द शर्माले उपशाखाको तर्फबाट डस्टबिन, पञ्जा, मास्कलगायतका आवश्यक सरसफाइ सामग्री हस्तान्तरण गर्नुभयो। उक्त सामग्री अभियानमा
सहभागी युवा तथा स्थानीयवासीलाई प्रयोगका लागि उपलब्ध गराइएको हो।


सरसफाइ अभियानमा उपशाखाका कार्यसमिति सदस्य, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थानमा फोहोर नगर्ने, फोहोरको उचित व्यवस्थापन गर्ने तथा आफ्नो टोल–समुदायलाई स्वच्छ र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै सभापति शर्माले स्वच्छ र स्वस्थ वातावरण निर्माणका लागि सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले सरसफाइ केवल कुनै एक संस्था वा व्यक्तिको जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
उहाँले स्थानीय समुदाय, युवा तथा सामाजिक संघ–संस्थाबीचको सहकार्यले बासडोललाई फोहोरमुक्त, स्वच्छ र सुन्दर क्षेत्र बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाले मानवीय सेवासँगै समुदायको स्वास्थ्य, सरसफाइ तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा आगामी दिनमा समेत सक्रिय रूपमा काम गर्ने जनाएको छ।
“बासडोलको गौरव, महेन्द्रज्योतिको शान,
फोहोरमुक्त क्षेत्र—हाम्रो अभियान।”

