बर्डफ्लु नियन्त्रणपछि जावलाखेलको सदर चिडियाखाना आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ।

काग, गिद्ध, हाँसलगायत पन्छीमा बर्डफ्लु (एभियन इन्फ्लुएञ्जा) संक्रमण पुष्टि भएपछि गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना संक्रमण नियन्त्रण र आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि पुनः खोलिएको हो।

बिज्ञापन

चिडियाखाना प्रशासनका अनुसार बिरामी पन्छीहरूको उपचार, सरसफाइ तथा वातावरणीय नमुनाको परीक्षणमा बर्डफ्लु भाइरस नदेखिएपछि पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने आगन्तुकले बेलुका ५ बजाभित्र बाहिरिनुपर्नेछ।

चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पन्छीसँग सुरक्षित दूरी कायम गर्न, संक्रमित देखिएका खोर नजिक अनावश्यक रूपमा नबस्न, खुला स्थानमा खानेकुरा नखान, फोहोर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ।