


काभ्रे, असार ७ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पछिल्लो एकता प्रक्रियालाई लिएर जिल्लाभर असन्तुष्टि बढ्न थालेको छ।


पार्टीको जिल्ला तथा पालिका तहको नेतृत्व चयन र जिम्मेवारी बाँडफाँडमा केही नेताहरूको एकोहोरो निर्णय भएको तथा पालिका पदाधिकारीहरूलाई पर्याप्त जानकारी नदिइएको भन्दै कार्यकर्ता र स्थानीय नेताहरूले असन्तुष्टि जनाउन थालेका हुन्।


यसैबीच, जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष तथा रोशी गाउँपालिकाका पूर्व अध्यक्ष मानविर वाइवा तामाङ ले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्। उनले कम्युनिष्ट आन्दोलनको नेतृत्व र जिम्मेवारी सक्षम तथा वैचारिक व्यक्तिहरूको सट्टा “ठेकेदार प्रवृत्ति” का व्यक्तिहरूको हातमा पुगेको आरोप लगाएका छन्।
वाइवाले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “काभ्रेको महान कम्युनिष्ट आन्दोलनको ठेक्का लिने ठेकेदारहरूले पार्टीलाई कोटेशनमा ठेक्का मिलाउने जिम्मेवारी लिँदा पार्टी दिनप्रतिदिन कमजोर बन्दै गएको छ। विवेक र क्षमता नभएका व्यक्तिहरूलाई जिम्मेवारी दिँदा कम्युनिष्ट आन्दोलनले सकारात्मक परिणाम दिन सक्दैन।”
उनको उक्त अभिव्यक्तिलाई पार्टीभित्र विकसित भइरहेको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। स्थानीय नेताहरूका अनुसार एकता प्रक्रियाप्रति असन्तुष्टि केवल सामाजिक सञ्जालमा मात्र सीमित छैन, विभिन्न पालिकाहरूमा यसको प्रभाव प्रत्यक्ष रूपमा देखिन थालेको छ।
मण्डनदेउपुर, महाभारत, चौरिदेउराली, खानिखोला गाउँपालिका, पाँचखाल नगरपालिका लगायतका क्षेत्रमा हालै आयोजना गरिएका बैठकहरूमा समेत अपेक्षित सहभागिता नदेखिएको र कतिपय बैठकमा गणपूरक संख्या नै पुग्न नसकेको स्थानीय नेताहरूको दाबी छ।
उनीहरूका अनुसार नेतृत्व चयन र संगठन निर्माणका विषयमा तल्लो तहका नेताहरूलाई बेवास्ता गरिएको गुनासो बढ्दै गएको छ। पार्टीभित्रको यो असन्तुष्टि समयमै सम्बोधन गर्न नसके आगामी दिनमा संगठनात्मक एकता र कार्यकर्ता परिचालनमा थप चुनौती सिर्जना हुन सक्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। यद्यपि, एकता प्रक्रियाको नेतृत्व गरिरहेका पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।
राजनीतिक विश्लेषकहरूका अनुसार एकता प्रक्रियालाई प्रभावकारी र दीर्घकालीन बनाउन जिल्लादेखि पालिका तहसम्मका नेता–कार्यकर्ताको भावना समेट्दै सहमतिका आधारमा नेतृत्व निर्माण गर्नु आवश्यक रहेको बताएका छन्।

