चोरी यौनजन्य हिँसा   र लागूऔषध विरुद्ध कडा एक्सनमा उत्रिने छौ डीएसपी राकेश

बनेपा । इलाका प्रहरी कार्यालय बनेपामा भर्खरै सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले काभ्रेपलाञ्चोक जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बनेपामा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डीएसपी थापाले चोरी, यौन हिंसा तथा लागूऔषध दुव्र्यसन र कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखेर कडा रूपमा अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

बिज्ञापन

उहाँले समाजमा बढ्दो अपराध नियन्त्रणका लागि प्रहरी र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै तथ्यपरक सूचना प्रवाहले अपराध नियन्त्रण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

“चोरी, यौन हिंसा र लागूऔषधका घटनाप्रति शून्य सहनशीलताको नीति अपनाइनेछ,” डीएसपी थापाले भन्नुभयो, “कानुन विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ ।”

कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाको समसामयिक सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण तथा नागरिक–प्रहरी सम्बन्धका विषयमा सुझाव तथा जिज्ञासा राखेका थिए ।

डीएसपी थापाले पत्रकारहरूबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काभ्रेका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो