


काठमाडौं राजन थापा समाजमा स्वास्थ्य चेतना अभिवृद्धि गर्दै गुणस्तरीय स्वास्थ्य सेवालाई समुदायसम्म पुर्याउने उद्देश्यका साथ सामाजिक रुपान्तरणका लागि नागरिक समाज र ॐ समाज डेन्टल हस्पिटल को सहकार्यमा आज पद्मोदय माध्यमिक विद्यालय मा बृहद् निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी ६५५ जनाको दन्त परीक्षण गरिएको थियो। विद्यालय परिसरमै विशेषज्ञ चिकित्सकको टोली पुगेर सेवा प्रदान गरेपछि विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारले खुसी व्यक्त गरेका थिए।


कार्यक्रममा विद्यालयकी प्राचार्य शर्मिला पोखरेल ले यस्ता जनहितकारी कार्यक्रमले विद्यार्थीमा स्वास्थ्य सचेतना बढाउनुका साथै सामाजिक संस्थाहरूलाई अझ सेवामुखी बन्न प्रेरणा दिने विश्वास व्यक्त गरिन्। उनले विद्यालयमै पुगेर सेवा प्रदान गरेकोमा आयोजकप्रति आभार समेत व्यक्त गरिन्।


ॐ समाज डेन्टल हस्पिटलका बोर्ड सदस्य तथा सामाजिक अभियन्ता राजन थापा ले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि उपचारबाट वञ्चित हुन नहुने बताए। उनले आगामी दिनमा समुदाय केन्द्रित निःशुल्क स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिविरलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरे।
शिविरमा डा. सिमा यादव, डा. सोफिया राउत, डा. सुभका राई तथा स्वास्थ्य स्वयंसेविका जुनु पण्डित को टोलीले दन्त परीक्षण गरेको थियो। कार्यक्रम धन घिमिरे को व्यवस्थापनमा सम्पन्न भएको थियो भने सवारी चालक रमेश ले समेत सक्रिय सहयोग गरेका थिए।
कार्यक्रमका संयोजक तथा सामाजिक रुपान्तरणका लागि नागरिक समाजका अध्यक्ष यमबहादुर जी.सी. ले सामुदायिक विद्यालयका विद्यार्थीहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहनु दुःखद् विषय भएको बताउँदै सरोकारवाला निकायको ध्यानाकर्षण गराए।
उनले भने,”शिक्षा र स्वास्थ्य राज्यको पहिलो प्राथमिकता हुनुपर्छ। तर आज पनि धेरै सामुदायिक विद्यालयका विद्यार्थीहरू सामान्य स्वास्थ्य परीक्षणबाट समेत टाढा छन्। हामी केवल भाषण गरेर परिवर्तनको प्रतीक्षा गर्ने पक्षमा छैनौं, प्रत्यक्ष सेवा दिएर समाज परिवर्तन गर्ने अभियानमा छौं। राज्यले गर्नुपर्ने काममा नागरिक समाज र सामाजिक संस्थाहरू अग्रसर हुनुपर्ने अवस्था आफैंमा चिन्ताको विषय हो। अब बागमती प्रदेशका सबै सामुदायिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै कुनै पनि विद्यार्थी स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने अभियानलाई अझ सशक्त बनाउनेछौं।”
उनले ॐ समाज डेन्टल हस्पिटलको अनुभवी चिकित्सक टोली, सफल उपचार सेवा र समुदायप्रतिको समर्पणका कारण संस्थासँग सहकार्य गरिएको बताउँदै आगामी दिनमा पनि संयुक्त रूपमा जनसेवामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।
यसैबीच, सामाजिक रुपान्तरणका लागि नागरिक समाज का सल्लाहकार समिति, मानार्थ सदस्य, आजीवन सदस्य, साधारण सदस्य, शुभेच्छुक तथा सम्पूर्ण रक्तदाता स्वयंसेवकहरूलाई ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको पनि जानकारी दिइएको छ।
समुदायमा स्वास्थ्य चेतना फैलाउने, विद्यार्थीहरूको मुस्कान सुरक्षित गर्ने र सेवाभावलाई व्यवहारमा उतार्ने उद्देश्यसहित सम्पन्न उक्त शिविरले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

