

काभ्रेको नमोबुद्ध नगरपालिका–स्थित भकुण्डेमा रहेको जनक माध्यमिक विद्यालय मा सञ्चालन गरिएको “पढ्दै कमाउँदै” कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालयका विद्यार्थीहरूले आफ्नै मिहिनेतले रोपेको आलु उत्पादन गरी त्यसलाई दिवा खाजाका रूपमा प्रयोग गर्न थालेपछि कार्यक्रमले थप चर्चा पाएको हो।


विद्यालयका अनुसार विद्यार्थीहरूले खेतमा परिश्रम गरी उत्पादन गरेको आलु उसिनेर नुन–खुर्सानीसँग दिवा खाजामा सेवन गरेका थिए। आफ्नै पसिनाले फलाएको आलुको स्वादले विद्यार्थीहरूमा खुसी मात्रै होइन, श्रमप्रतिको सम्मान र आत्मनिर्भरताको भावना समेत बढाएको विद्यालयले जनाएको छ।


कार्यक्रममार्फत विद्यार्थीहरूमा सहकार्य, जिम्मेवारी र उत्पादनमुखी सोचको विकास भइरहेको विद्यालय परिवारको भनाइ छ। खेतमा गरेको सानो प्रयासले आज विद्यालयभर खुसी फैलिएको भन्दै विद्यालयले यसलाई शिक्षासँगै व्यवहारिक सीप सिकाउने अभियानका रूपमा लिएको जनाएको छ।
विद्यालयका अनुसार यस वर्ष करिब ६ हजार केजी आलु उत्पादन भएको अनुमान गरिएको छ। उत्पादित आलुमध्ये केही दिवा खाजा तथा विद्यालयको छात्रावासका लागि प्रयोग गरिने र बाँकी आलु बिक्री गरिने विद्यालयले जानकारी दिएको छ।
विद्यालयले “माटोले माग्दैन, आफैँ दिनुपर्छ” भन्ने सन्देशसहित श्रम र उत्पादनलाई शिक्षासँग जोड्दै आएको जनाएको छ।

