गणित शिक्षक अभावले प्रभावित शुभ चामुण्डा माविको पढाइ, अभिभावक आक्रोशित

 

बनेपा । बनेपा नगरपालिका–३ स्थित श्री शुभ चामुण्डा माध्यमिक विद्यालयमा लामो समयदेखि गणित शिक्षकको अभाव हुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको भन्दै अभिभावकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि विद्यालयमा गणित विषयको नियमित शिक्षक नियुक्त हुन नसकेको अभिभावकहरूको गुनासो छ।

बिज्ञापन

अभिभावकहरूका अनुसार विद्यालयमा आउने गणित शिक्षकहरू पनि केही महिनामै जागिर छोडेर जाने प्रवृत्ति दोहोरिँदै आएको छ। जसका कारण विद्यार्थीहरूले नियमित र गुणस्तरीय रूपमा गणित विषय अध्ययन गर्न नपाएको उनीहरूको भनाइ छ। विशेषगरी माध्यमिक तहका विद्यार्थीहरू प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।

स्थानीय अभिभावकहरूले शिक्षक नियुक्ति प्रक्रियामा राजनीति हावी हुँदा योग्य तथा दरबन्दीअनुसार स्थायी शिक्षक ल्याउन नसकिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार यसले विद्यालयको समग्र शैक्षिक वातावरण कमजोर बनाएको मात्रै होइन, SEE परीक्षाको नतिजामा समेत नकारात्मक असर परेको छ।

“हरेक वर्ष शिक्षक फेरिने समस्या छ, विद्यार्थीले आधारभूत कुरा पनि राम्रोसँग बुझ्न पाएका छैनन्,” एक अभिभावकले गुनासो गर्दै भने, “विद्यालय प्रशासन र सम्बन्धित निकायले अब विद्यार्थीको भविष्यप्रति गम्भीर बन्नुपर्छ।”

अभिभावकहरूले स्थानीय तह, शिक्षा शाखा तथा सम्बन्धित सरोकारवाला निकायसँग तत्काल स्थायी तथा दक्ष गणित शिक्षकको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले विद्यार्थीहरूको भविष्यसँग खेलवाड नगर्न चेतावनी दिँदै विद्यालयमा शैक्षिक स्थायित्व कायम गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन्।