काभ्रेपलान्चोक – यो वर्षको दशै शुरु भएको छ । यतिबेला बजारमा दशैको किनमेल गर्नेको चहलपल बाक्लै बनेको छ भने घर फर्कनेको चाप पनि बढेको छ । कोभिड–१९ को संक्रमण रहिरहेको भएपनि घर फर्कनेको चापले सवारी जाम समेत बढिरहेको छ ।
नेपालीहरुको बिशेष चाडको रुपमा मानिने दशै नेपालीहरुको र विषेश गरी हिन्हुहरुको प्रमुख चाडको रूपमा मानिन्छ । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशतीमा चण्डी पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड मुण्ड तथा शुम्भ निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको पाईन्छ ।
अश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिन देखी नवरात्री आरम्भ हुन्छ । यस दिन घट कलशको स्थापना गरी देवी देबताहरुलाई स्वागत गरिन्छ । यसै दिन चोखो पञ्चमाटो वा बालुवा ल्याई दशै घर अथवा पुजा कोठामा राखी जमरा उमार्न जौ अथवा अन्न छरिन्छ । विजया दशमी मध्यका चार दिनलाई बिशेष दिन को रुपमा लिने गरिन्छ । विजया दशमी को सातौ दिन महा सप्तमी फुलपाती भनिन्छ । यसदिन बेलपत्र, धानकोगाभा, अनार, अदुवाको बोट, उखु, केरा आदी गरेर नौ प्रकार का पल्लबहरुलाई दशै घरमा भित्र्याइने गरिन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्र्याइने गरिन्छ । नवरात्री को आठौ दिन महाकाली भद्रकालीको बिशेष पुजा गरिन्छ । पुजा पश्चात यि देबीलाई बोका, राँगो, कुखुरा, हाँस, आदी बली दीइन्छ । गाउघरमा मानिसहरु आ आफ्ना कुल देवी देबता र स्थानीयदेवी देबताहरुलाई पनी पुजा बली दिने गर्दछन ।
नवरात्र को नवौ दिन शिद्दीदात्री देवी को पुजा गरिन्छ । यसै दिन बिभिन्न हात हतियार, कलपुर्जा, सवारी साधनहरु आदिलाई पनी बली दीइ विश्वकर्माको पुजा गरिन्छ । नवरात्रमा बिशेष गरी पुजा आजा सहित बलि दिने चलन छ । बलिको अर्थ हो त्याग बलिदिनु अर्थात त्यागी दिनु भन्ने हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो ।

विजया दशमीका दिनः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
को आर्शिवचन लिएर मान्यजनवाट टीका थाप्न जाने कार्य शुरु हुन्छ र यो क्रम पूर्णिमाको दिनसम्म निरन्तर रहन्छ । दशैको समापन कोजाग्रत पूर्णिमाका दिन हुने छ ।
यस्तो छ शुभ साइत
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेकोमा भोली असोज २६ गते मङ्गलबार फूलपाती परेको छ ।
फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष हुन्छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः ४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः १९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० ः ०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजयादशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ । –नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..