पनौती, कात्तिक ७ गते  काभ्रेपलान्चोक – रोटरी क्लब अफ पनौती, रोट्र्याक्ट क्लब अफ पनौती र इन्ट्र्याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीको संयुक्त आयोजनामा आइतबार पनौतीमा विश्व पोलियो दिवस मनाइएको छ । सहभागीहरुले इन्द्रेश्वर मन्दिर प्राङ्गणबाट विश्व पोलियो दिवसको ब्यानरसहित नगर परिक्रमा गरेका थिए । सो पश्चात नेपाल भोकेस्नल एकेडेमीमा आयोजित कार्यक्रममा पोलियो रोग उन्मूलनमा रोटरीले खेलेको भूमिकाबारेमा विज्ञहरुले प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सनाले नेपालबाट पोलियो उन्मूलन हुनुमा रोटरीलगायत विश्व स्वास्थ्य संगठन, युनिसेफजस्ता अन्तराषर््िट्रय निकायहरुको ठुलो सहयोग रहेको बताए । उनले भने, ‘पनौती नगरपालिकाले पनि खोप कार्यक्रमलाई प्राथमिकता दिएको र निरन्तर खोप कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । स्वास्थ्यका विभिन्न दिवसहरुमा रोटरी, रोट्र्याक्ट र इन्ट्र्याक्टसँग नगरपालिकाले मिलेर कार्यक्रमहरु लागू गरिरहेको छ’, तिमल्सिनाले थप्नु भयो ।
रोटरी पनौतीका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका प्राडा सुमनराज ताम्राकारले अहिले कोरोना भाइरसका कारण आम समुदायलाई खोप र रोगबारे बुझाउन सहज भएको बताउनु भयो । उनले भने, ‘विगतमा धेरै अभिभावकहरुलाई पोलियो खोपबारेमा बुझाउन कठिन थियो । अब सबैले पोलियोलगायतका सबै खाले खोपको महत्व बुझ्न थालेको हुँदा नेपालमा खोपको कभरेज पनि बढ्दो रहेको छ’, ताम्राकारले थपे ।
कार्यक्रममा रोटरी क्लब अफ पनौतीका अध्यक्ष(निर्वाचित) मधसुधन गुरागाईं, वर्तमान अध्यक्ष सितु सैंजु, रोट्र्याक्ट क्लब अफ पनौतीका अध्यक्ष आशुतोष केसी र इन्ट्र्याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीकी अध्यक्ष मानुषी थापाले पोलियो उन्मूलनमा रोटरी इन्टरनेशनलका सबै प्रकारका क्लबहरुको भूमिकाबारेमा प्रष्ट पारेका थिए ।
रोटरी इन्टरनेशनलद्वारा जारी विज्ञप्ति अनुसार रोटरीले सन् १९७९ देखि नै पोलियो रोग उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा हरेक वर्षको अक्टोबर २४ तारिखमा विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान र अफगानिस्तानबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएको बताइन्छ ।
यद्यपि नेपाल सरकारले अफगानिस्तानबाट फर्किएका नेपालीहरुलाई पोलियो खोप लगाइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अफगानिस्तानमा रहेको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरेको हो । अफगानिस्तानलाई तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किएका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..