एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं,
वैशाख २८ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बिज्ञापन

यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यस्तै, एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो । बोर्डले परीक्षा सकिएको २९ दिनमा एसईईको नतिजा सार्वजनिक गरेको हो ।

चैत २९ गते सकिएको एसईईमा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका थिए । जसमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र सात जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभर एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

परीक्षा बोर्डले एसईई नजिता हेर्न सकिने विभिन्न माध्यमबारे पनि जानकारी दिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने जनाएको छ ।

बोर्डका अनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ । त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ ।