१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस: अधिकार, संघर्ष र जिम्मेवारीको पुनःस्मरण

 

राजन अधिकारी
अध्यक्ष
अखिल नेपाल ट्रेड युनियन महासंघ, काभ्रे

बिज्ञापन

१३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। श्रम, पसिना र समर्पणमार्फत समाज निर्माणमा निरन्तर योगदान पुर्‍याउने श्रमिक वर्गप्रति उच्च सम्मान प्रकट गर्दै यो दिवस केवल उत्सव मात्र नभई संघर्ष, उपलब्धि र जिम्मेवारीको गहिरो स्मरण गर्ने महत्वपूर्ण अवसर हो।

आजभन्दा १३७ वर्षअघि अमेरिकाको शिकागो सहरमा मजदुरहरूले “८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन” भन्ने मूल नारासहित ऐतिहासिक आन्दोलन गरेका थिए। उक्त आन्दोलनले श्रमिक अधिकारको आधारशिला स्थापना गर्‍यो र विश्वभरिका मजदुरहरूको साझा जितको प्रतीक बन्यो। आज हामीले भोगिरहेका धेरै अधिकारहरू त्यही संघर्षको परिणाम हुन्।

तर विडम्बना, आजको आधुनिक युगमा समेत हाम्रो जस्तो विकासोन्मुख देशमा ती अधिकारहरूको पूर्ण कार्यान्वयन हुन सकेको छैन। श्रमिकहरू अझै पनि न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल र अस्थिर रोजगारीजस्ता समस्यासँग जुधिरहेका छन्। यसैबीच संगठित हुने अधिकारमाथि हस्तक्षेप, ट्रेड युनियन कमजोर पार्ने वा खारेज गर्ने प्रयासजस्ता घटनाहरूले थप चिन्ता उत्पन्न गरेको छ।

यस्तो परिस्थितिमा ट्रेड युनियनहरूले श्रमिकहरूको सशक्त आवाज बन्नुपर्छ। तर दुर्भाग्यवश कतिपय अवस्थामा युनियन नेतृत्वमै देखिने स्वार्थकेन्द्रित प्रवृत्ति, श्रमिकप्रति अपमानजनक व्यवहार र उत्तरदायित्वको कमीले आन्दोलनलाई कमजोर बनाइरहेको छ। श्रमिककै नाममा राजनीति गर्ने तर श्रमिककै अधिकारमाथि आँच पुर्‍याउने प्रवृत्तिले दीर्घकालीन रूपमा असन्तोष र विद्रोह निम्त्याउन सक्छ।

यसकारण, स्थानीय, प्रदेश र संघीय सरकारसहित श्रमसम्बन्धी सम्पूर्ण निकायहरूले समयमै सचेत र जिम्मेवार बन्न आवश्यक छ। श्रमिकहरूलाई अधिकार दिलाउन कन्जुस्याइँ नगरी, सहकार्यको वातावरण सिर्जना गर्दै श्रमिकमैत्री नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ। श्रमिकको सम्मान, सुरक्षा र सन्तुष्टि सुनिश्चित गर्नु नै समग्र विकासको दिगो आधार हो।

अन्ततः, मजदुर दिवसले हामी सबैलाई श्रमको सम्मान गर्न, श्रमिकका अधिकार सुनिश्चित गर्न र न्यायपूर्ण समाज निर्माणतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्। श्रमिक अधिकारको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष एकजुट हुनु आजको अपरिहार्य आवश्यकता हो।