

काभ्रे । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्ययोजना अनुरूप बाल सदस्यहरूलाई लक्षित गरी बनभोज कार्यक्रम सम्पन्न गरिएको छ। १० देखि १५ वर्ष उमेर समूहका ८० जना बाल सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

काभ्रे पलान्चोक जिल्लाको पर्यटकीय क्षेत्र नमोबुद्धमा वैशाख ३ गते आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी बाल सदस्यहरूलाई गुम्बा क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो।


संस्थाका व्यवसाय प्रवर्द्धन उपसमिति संयोजक बुद्धी प्रसाद पराजुलीको संयोजनमा आयोजित कार्यक्रममा बनेपा सेवा केन्द्र व्यवस्थापन समिति संयोजक श्याम सुन्दर चौलागाईं तथा उपसमिति सदस्य उत्तम तिमल्सिनाको आतिथ्यता रहेको थियो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाका सेवा तथा कार्यक्रमबारे अभिमुखीकरण गराउनुभएको थियो।
त्यसैगरी, ऋण अधिकृत मनुप सापकोटाले बचत शिक्षा, खर्च व्यवस्थापन तथा प्रविधिको प्रयोग सम्बन्धी प्रस्तुति दिनुभएको थियो। सहभागी बाल सदस्यहरूलाई विभिन्न खेल, नृत्य, प्रश्नोत्तर लगायतका गतिविधिमार्फत मनोरञ्जन समेत प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने आयोजक समिति, व्यवस्थापन पक्ष, गौरीशंकर क्याटरिङ सर्भिस, सवारी चालक तथा सम्पूर्ण सहभागी बाल सदस्यहरूलाई संस्थाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै सहकार्यको अपेक्षा गरेको जनाएको छ।


