“मिडियाको सहयात्रा र सामाजिक प्रतिबद्धता : भित्तेपात्रो बिमोचनसँगै स्वास्थ्य सेवामा २५% छुटको घोषणा

 

काठमाडौं – राजन थापा
समाजका हरेक गतिविधिलाई आम नागरिकसम्म पुर्‍याउने महत्वपूर्ण दायित्व बोकेको मिडियाको सशक्त उपस्थिति फेरि एकपटक देखिएको छ। तुफान न्युज डटकमको आधिकारिक सञ्चालक संस्था पहाडी मिडिया नेटवर्क प्रा.लि.द्वारा प्रकाशित भित्तेपात्रो–२०८३ एक आत्मीय समारोहका बीच बिमोचन गर्दै बजारमा सार्वजनिक गरिएको छ।

बिज्ञापन

कार्यक्रम केवल भित्तेपात्रो विमोचनमा सीमित रहेन, यो मिडिया, व्यवसायी र समाजबीचको सम्बन्ध अझ मजबुत बनाउने भावनात्मक क्षणका रूपमा पनि स्थापित भयो। कार्यक्रममा उपस्थित वक्ताहरूले मिडिया सञ्चालनको मेरुदण्ड नै विज्ञापन भएको उल्लेख गर्दै पारदर्शी स्रोत व्यवस्थापनमार्फत सत्य र तथ्यमा आधारित पत्रकारिता अघि बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठसहित विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी, कलाकार, चिकित्सक र मिडियाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरूले साना तथा स्वतन्त्र मिडियालाई जोगाइराख्न उद्योगी–व्यवसायीको साथ अपरिहार्य रहेको धारणा राख्दै मिडिया र व्यवसायीबीचको सम्बन्ध “नङ र मासु” जस्तै हुनुपर्ने बताएका थिए।

कार्यक्रमकै बीच एक भावनात्मक र प्रेरणादायी घोषणा पनि गरिएको थियो। ॐ समाज डेण्टल अस्पतालका बोर्ड सदस्य तथा सामाजिक अभियानता–पत्रकार राजन थापाले सम्पूर्ण पत्रकारहरूको स्वास्थ्यप्रति सम्मान प्रकट गर्दै उपचारमा २५% छुट दिने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, “समाजको सत्य उजागर गर्ने पत्रकारहरूको स्वास्थ्य सुरक्षित हुनु अत्यन्त जरुरी छ, उहाँहरूको सेवाप्रति सानो सम्मानस्वरूप यो पहल गरिएको हो।”
उक्त घोषणा उपस्थित पत्रकार तथा अतिथिहरूका लागि विशेष उत्साह र प्रेरणाको विषय बनेको थियो। यसले मिडिया क्षेत्रप्रति सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमका अन्य वक्ताहरूले पनि सामाजिक रूपान्तरणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सीमित स्रोत–साधनका बीच संघर्ष गरिरहेका मिडियालाई सहयोग गर्न सबै पक्षलाई आग्रह गरे।

कार्यक्रमको संयोजन पहाडी मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष तथा तुफान न्युज डटकमका सम्पादक रामबहादुर सिंहले गर्नुभएको थियो भने सञ्चालन डि.बि. पराजुलीले गर्नुभएको थियो।
अन्त्यमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

यो कार्यक्रमले केवल एउटा भित्तेपात्रोको विमोचन मात्र होइन, समाज, मिडिया र सेवाभावबीचको सम्बन्धलाई अझ गहिरो बनाउने सन्देश दिएको छ।