ग्रेसल्याण्डको २६ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न 

 

फागुन १८ गते आइतबार,
साँगा, शैक्षिक क्षेत्रमा आफूलाई अब्बल साबित गराउन सफल बनेपा न. पा. वडा नं १४ मा रहेको ग्रेसल्याण्ड माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा अभिभावक दिवस भव्यताका साथ सु सम्पन्न गरेको छ ।

बिज्ञापन

प्याब्सनका केन्द्रीय उप महासचिव भिमसेन के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय उप महासचिव के.सी.ले भक्तपुर र काभ्रेको सिमाना नजिक रहेको ग्रेसल्याण्ड स्कूलले सदैव गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुलाई नैतिक र व्यवहारिक ज्ञान दिन सफल भएकोमा प्रशंसा गरेका थिए । केसीले समाज परिवर्तनका लागि आवश्यक शिक्षाको क्षेत्रमा ग्रेसरल्याण्डको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । उनले विद्यालयले देशकै शैक्षिक क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेकोमा विद्यालय व्यवस्थापनको समेत प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुजेन्द्र श्रेष्ठले विद्यालयका गतिविधिका साथै प्रगति विवरण र भावी योजना प्रस्तुत गर्दै विद्यार्थीहरुको उज्जवल भविष्यका लागि गुणस्तरीय शिक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता जनाए । प्रिन्सिपल श्रेष्ठले अतिरिक्त क्रियाकलाप सहित व्यवहारिक र २१ औं शताब्दी सुहाउँदो व्यवसायिक शिक्षालाई जोड दिदै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा विद्यालय सदैव अडिग रहने बताए ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नं १३ का पूर्ववडाध्यक्ष सूर्यनारायण नापित, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, उपाध्यक्ष वसन्तराज नेपाल, सचिव विमल न्यौपाने, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, पनौती प्याब्सन अध्यक्ष रामचन्द्र देउजा, पाँचखाल प्याब्सनका अध्यक्ष राम प्रसाद कोइराला लगायत स्थानीय समाजसेवी, शिक्षाविद् तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विद्यालयका जेष्ठ संचालक सदस्य केशवलाल प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरुद्वारा प्रस्तुत विविध नृत्य, नाटक, गीतले उपस्थित सम्पूर्णलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षामा सहभागी भई सर्वोकृष्ट जि पि ए ४ ल्याउन सफल विद्यार्थीद्वय प्रकृति दुलाल र आदित्यराज अधिकारीलाई प्रोत्साहन स्वरूप प्रति विद्यार्थी नगर रू २५,५५५/- ले पुरस्कृत गरिएको थियो ।

त्यस्तै विद्यार्थीहरुले विभिन्न स्वादिष्ट भोजनका फुड स्टलहरू सञ्चालन गरेका थिए भने विद्याथीहरुको हस्तलेखन, लाईभ चित्रकला, स्काउटका साहसिक गतिविधि लगायतको प्रदर्शनी समेत कार्यक्रमको आकर्षण रहेको थियो ।