
काभ्रेको शैक्षिक क्षेत्रमा दुई दशकदेखि उज्यालो तारा झैँ चम्किँदै आएको इसा मेमोरियल स्कुल को २० औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । बनेपा–६ बुडोलमा अवस्थित विद्यालय प्राङ्गण अभिभावक, विद्यार्थी र शिक्षकहरूको उल्लेखनीय उपस्थितिले उत्साहमय बनेको थियो ।

कार्यक्रम प्याब्सनका केन्द्रीय उप–महासचिव भिमसेन केसी को प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक अध्यक्ष सुर्यप्रभा शाक्यको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिहरू प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल तथा बनेपा नगरपालिका वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य लगायत काभ्रे प्याब्सन र बनेपा प्याब्सनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

दुई दशकको शैक्षिक यात्रालाई स्मरण गर्दै वक्ताहरूले विद्यालयले गुणस्तरीय शिक्षासँगै नैतिक मूल्य, अनुशासन र संस्कारको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । प्रमुख अतिथि केसीले प्राथमिक तहमा काभ्रेकै नमूना विद्यालयको रूपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै विद्यालय परिवारलाई बधाई ज्ञापन गर्नुभयो। अध्यक्ष शाक्यले सुरुवाती संघर्षका दिनहरू सम्झँदै आजको उपलब्धि सबैको सामूहिक मेहनतको परिणाम भएको बताउनुभयो ।


कार्यक्रमको विशेष आकर्षण ६८ जना साना नानीहरूको युकेजी दीक्षान्त समारोह बनेको थियो। दीक्षित विद्यार्थीहरूको आत्मविश्वासपूर्ण उपस्थिति, अभिभावकहरूको खुशी र शिक्षकहरूको गर्वले वातावरण भावुक बनेको थियो। साथै, उत्कृष्ट तथा मेहनती विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दा हलभरि तालीको गडगडाहटले कार्यक्रमलाई अझ उत्साहपूर्ण बनाएको थियो ।
विद्यालयका प्रिन्सिपल प्रशन्न जोशीका अनुसार विद्यालयको सुरुवात वि.सं. २०६० सालमा “चाइल्ड केयर” को रूपमा केवल ६ जना विद्यार्थीबाट भएको थियो भने औपचारिक रूपमा वि.सं. २०६५ सालदेखि सञ्चालनमा आएको हो । हाल विद्यालयमा ३०० विद्यार्थी अध्ययनरत रहेका छन् भने २२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य, पोषण र सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै विद्यालय परिसरमै स्वच्छ तथा पोषणयुक्त खाना उपलब्ध गराउँदै आएको जनाएको छ। प्राकृतिक रूपमा घाम लाग्ने अनुकूल स्थानमा अवस्थित विद्यालय भवन भूकम्प प्रतिरोधी कोरियन प्रविधिबाट निर्माण गरिएको छ, जसले जाडोमा न्यानो र गर्मीमा शीतल वातावरण प्रदान गर्ने विशेषता बोकेको छ ।
यसका साथै विद्यालयको सिस्टर संस्था रेडियो सेफर्ड ८८.४ मेगाहर्ज धुलिखेल तथा चितवनस्थित सेफर्ड एफ.एम. ८९.२ मार्फत विद्यार्थीहरूलाई रेडियो कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरिँदै आएको छ, जसले उनीहरूको सञ्चार सीप र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पारेको विद्यालयले जनाएको छ ।
विद्यालयलाई क्रमशः कक्षा १० सम्म विस्तार गर्ने लक्ष्यसहित अगाडि बढिरहेको जानकारी दिँदै विद्यालय प्रशासनले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित उल्लासमय वातावरणमा सम्पन्न भएको थियो ।


