२५ वर्षे गौरवगाथा : सिद्धार्थ स्कुल तथा कलेजको रजत जयन्ती भव्य रुपमा सम्पन्न

बनेपा, काभ्रे — सिद्धार्थ स्कुल तथा कलेजले कलेजको स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती समारोह (२५ औँ वार्षिकोत्सव) भव्य रूपमा सम्पन्न गरेको छ। समारोहमा विद्यालयले आफ्नो २५ वर्षे शैक्षिक यात्रा, उपलब्धि तथा भावी योजनाहरू सार्वजनिक गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

समारोहका अध्यक्ष विद्यालयका संस्थापक अध्यक्ष ज्ञानबहादुर के.सी. रहेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतम सहभागी भएका थिए। साथै प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन के.सी., विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, अभिभावक, विद्यार्थी तथा पूर्वविद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बिज्ञापन

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञानबहादुर के.सी.ले “सिद्धार्थ स्कुल तथा कलेज केवल पढाइ गराउने संस्था मात्र होइन, संस्कार, अनुशासन र प्रतिस्पर्धी क्षमता विकास गर्ने शैक्षिक केन्द्रका रूपमा चिनिएको छ। २५ वर्षको अथक प्रयास, शिक्षक–कर्मचारीको समर्पण र अभिभावकको विश्वासका कारण आज हामी देशभरि उदाहरणीय संस्थाको रूपमा उभिएका छौं।”

त्यस्तै प्रमुख अतिथि दीपक कुमार गौतमले विद्यालयको निरन्तर प्रगति र शैक्षिक गुणस्तरको प्रशंसा गर्दै भने,विद्यालय आज देशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित भइसकेको स्मरण गराए।“सिद्धार्थ स्कुल तथा कलेजले शैक्षिक क्षेत्रमा स्थापित गरेको मापदण्ड अन्य संस्थाका लागि प्रेरणाको स्रोत बनेको छ। जिल्लाबाट सुरु भएको यो संस्था आज राष्ट्रिय स्तरमा उत्कृष्टताको पहिचान बनाउन सफल भएको छ। आगामी दिनमा अझै प्रविधिमैत्री, अनुसन्धानमुखी र गुणस्तरीय शिक्षा प्रदान गर्दै देशकै अग्रणी शैक्षिक संस्थाका रूपमा पहिचान कायम राखोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण
रजत जयन्ती समारोहमा कक्षा ११ र १२ का व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरूले स्वागत नृत्यसहित विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। चर्चित गीतहरूमा समूह तथा एकल नृत्य, गायन र विशेष प्रस्तुति समावेश गरिएको थियो। कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास झल्काएको थियो।

उपलब्धि र आगामी योजना
विद्यालयले २५ वर्षको शैक्षिक यात्रामा हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै उत्कृष्ट विद्यार्थी, शिक्षक तथा सहयोगीलाई सम्मान गरिएको विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुइँटेलले जानकारी दिए। साथै प्रविधिमैत्री शिक्षा, गुणस्तरीय शिक्षण पद्धति, अनुसन्धानमुखी अध्ययन र सीपमूलक कार्यक्रमलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

रजत जयन्ती समारोह विद्यालय परिवारका लागि गौरवको ऐतिहासिक क्षणका रूपमा लिइएको छ। आयोजकले अभिभावक, पूर्वविद्यार्थी तथा सम्पूर्ण शुभेच्छुकहरूलाई निरन्तर साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रमको सञ्चालन विद्यालयका उप–प्रधानाध्यापक (Vice Principal) सुधिर न्यौपानेले गरेका थिए।