
काभ्रे — ज्योति एकेडेमी विद्यालय परिवारले विद्यार्थीहरूको दैनिक क्रियाकलापबारे प्रत्यक्ष जानकारी लिन तथा विद्यालयबाट सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गरी समाधान खोज्ने उद्देश्यले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत शिक्षक तथा विद्यालय प्रतिनिधिहरूले अभिभावकहरूसँग प्रत्यक्ष संवाद गर्दै विद्यार्थीहरूको अध्ययन अवस्था, व्यवहार, अनुशासन, रुचि तथा सामना गरिरहेका चुनौतीहरूबारे विस्तृत छलफल गरेका थिए। सो अवसरमा अभिभावकहरूले आफ्ना सन्तानको शैक्षिक प्रगति र व्यवहारसम्बन्धी अनुभवहरू साझा गर्दै विद्यालय व्यवस्थापनलाई आवश्यक सुझावसमेत दिएका थिए।

विद्यालयका अनुसार संकलित सुझाव र प्रतिक्रियाका आधारमा शैक्षिक वातावरणलाई अझ प्रभावकारी, अनुशासित र गुणस्तरीय बनाउने योजना अघि बढाइनेछ। विद्यालय र अभिभावकबीचको सहकार्यलाई बलियो बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने पनि जनाएको छ।




