

शैलुङ्गेश्वरी साकोसको १० औं वार्षिक साधारणसभा सम्पन्न


बनेपा । शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शनिबार चौरीदेउराली गाउँपालिका–३ माझिफेदामा सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष बिरबल गौतमको सभापतित्वमा भएको साधारणसभाको प्रमुख अतिथि चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेनुका चौलागाईंले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो। प्रमुख अतिथि चौलागाईंले सहकारीलाई सुशासनको दायराभित्र राखेर समुदायको जनअपेक्षाअनुरूप सञ्चालन गर्न सके सहकारी समाज विकासको प्रमुख आधार बन्न सक्ने बताउनुभयो।

कार्यक्रमको विशिष्ट अतिथि जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोककी महिला उपाध्यक्ष मिरा सत्यालले नीतिनियम र प्रविधिअनुरूप सहकारी सञ्चालन भएमा ग्रामीण आर्थिक विकासमा ठुलो योगदान हुने धारणा राख्नुभयो।
सभामा चौरीदेउराली गाउँपालिका–३ का वडाध्यक्ष चित्र प्रसाद चौलागाईं, बुद्ध हिमालय मा.वि.का प्र.अ राजु चौलागाईं, संस्थापक अध्यक्ष गुण प्रसाद चौलागाईं, काभ्रे प्रेसका अरविन्द्र गौतम, समाजसेवी तथा व्यवसायी बलराम ढुंगाना लगायतको उपस्थिति थियो। त्यस्तै, श्री कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण गौतम, किरणोदय आ.वि.का प्र.अ मोहन प्रसाद ढुंगेल र सुर्य हिमालयका प्र.अ बलराम गौतम पनि सहभागी हुनुहुन्थ्यो।
संस्थाका सचिव शिव प्रसाद ढुंगेलले सदस्यहरूको विश्वासका कारण सहकारी सहज र सुरक्षित संस्था बनेको उल्लेख गर्दै पुँजी संकलनमार्फत उत्पादनशीलता र व्यवसायिकता बढाउन योगदान दिइरहेको जानकारी दिनुभयो।
सभामा आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन सचिव शिव प्रसाद ढुंगेलले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेद प्रसाद गौतमले र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक विष्णु प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो।
साधारणसभाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, संस्थाको शेयर पुँजी ४ करोड ८३ लाख ८७ हजार १ सय, बचत संकलन ९ करोड १० लाख १२ हजार ८ सय, ऋण लगानी १४ करोड ४३ लाख ९२ हजार ५ सय ६८ र वितरणयोग्य नाफा १ करोड २१ लाख ६० हजार २ सय ३१ रहेको छ।
कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ताका रुपमा गौरव सापकोटा र अनन्या गौतम, उत्कृष्ट कारोबार बचतकर्ताका रुपमा भरत गौतम र बिनिता गौतम, जेष्ठ नागरिक सम्मानतर्फ साइला लामा र माइली तामाङ, उत्कृष्ट ऋणीतर्फ तेजबहादुर सुनार र पार्वती गौतम चौलागाईंलाई सम्मान गरिएको थियो।
त्यस्तै, बाल बचतकर्तामध्ये एसईई २०८१ उत्तीर्ण सन्दीप गौतम र आयुष्मा खड्कालाई सम्मान गरिएको थियो। बाल बचतकर्ता समर ढुंगेलले Kids of the Year International 2025 जितेका कारण नगदसहित सम्मान प्राप्त गर्नुभयो।
यसैगरी, सामाजिक सेवा पुरस्कार–२०८२ अन्तर्गत नगद ११ हजार १ सय १० रुपैयाँ बुद्ध हिमालय मा.वि. विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषलाई प्रदान गरिएको थियो।
संस्थापक अध्यक्ष गुण प्रसाद चौलागाईं, निवर्तमान अध्यक्ष एवं सल्लाहकार लिला माया गौतम, समाजसेवी रमेश गौतम र उत्कृष्ट कर्मचारी गीता गौतमलाई पनि नगदसहित सम्मान गरिएको थियो।
व्यवस्थापक दिपेन्द्र चौलागाईंले ग्रामीण भेगमा अवस्थित रहेर पनि संस्था काभ्रेका उत्कृष्ट सहकारीमध्ये एक बन्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी बनाउन दक्ष व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष षडानन्द गौतमले राख्नुभएको थियो भने सञ्चालन व्यवस्थापक दिपेन्द्र चौलागाईं र रस्मी कुमारी खड्काले गर्नुभएको थियो।