बनेपामा १६ गते कांग्रेसको बृहत् युवा भेला, उम्मेदवार विजयका लागि युवाशक्ति परिचालन

काभ्रे । नेपाली कांग्रेस युवा तथा स्वयम् सेवक परिचालन समिति काभ्रेपलान्चोकको आयोजनामा आउँदो १६ गते शनिबार बनेपा पार्टी भेन्युमा बृहत् युवा भेला आयोजना गरिने भएको छ। 

प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यसहित कार्यक्रम तय गरिएको नेपाली कांग्रेस युवा तथा स्वयम् सेवक परिचालन समिति काभ्रेपलान्चोकका संयोजक सुधिर वैद्यले जानकारी दिएका छन्। काभ्रे जिल्ला क्षेत्र नं. १ बाट गुणराज मुक्तान र काभ्रे जिल्ला क्षेत्र नं. २ बाट मधु आचार्य उम्मेदवार रहेका छन्। साथै समानुपातिकतर्फ काभ्रे जिल्लाबाट मिरा नेपाली उम्मेदवार रहेकी छन्। उक्त भेलामार्फत यी उम्मेदवारहरूको विजय सुनिश्चित गर्न युवाहरूलाई सक्रिय रूपमा परिचालन गरिने जनाइएको छ ।

कार्यक्रमले युवाहरूबीच एकता, सहकार्य र संगठन सुदृढीकरणको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ। जिल्लाभरका दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको सह-संयोजक रोशन लामाले जानकारी दिए ।

बिज्ञापन

संयोजक वैद्यले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन र विकासको अभियानलाई अघि बढाउन युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सम्पूर्ण युवाशक्तिलाई भेलामा सहभागी भई कांग्रेस उम्मेदवारहरूलाई विजयी गराउन आह्वान गरेका छन्।