

बनेपा, काभ्रेपलाञ्चोक – बनेपा नगरपालिकाले नेपाल बनेपा बहुप्राविधिक शिक्षालय रहेको भवन तथा शिक्षालयले प्रयोग गर्दै आएको जग्गा नगरपालिका मातहत ल्याई सो स्थानमा नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको छ।

नगरसभाको मिति २०८२ पुस ३० गते बसेको १७औँ अधिवेशनले वडा नं. ५ अन्तर्गत सञ्चालनमा रहेको शिक्षालयको भवन र सम्पूर्ण जग्गा नगरपालिका मातहत ल्याउने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। निर्णयअनुसार आगामी शैक्षिक सत्रदेखि शिक्षालयका पठनपाठन कार्यक्रम अन्यत्र वैकल्पिक स्थानमा सारिने र हाल प्रयोग भइरहेको स्थान खाली गरिदिन प्रशासनलाई पत्राचारसमेत गरिएको छ। उक्त पत्र नगर प्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित छ।


६०१ विद्यार्थीको भविष्य के होला ?
हाल शिक्षालयमा अध्ययनरत ६०१ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। उनीहरूको भनाइमा प्रविधिमैत्री तथा सीपमूलक शिक्षा आजको आवश्यकता भएको अवस्थामा सञ्चालनमा रहेको संस्थालाई हटाउने निर्णयले युवाको भविष्यसँग खेलवाड गरेको आरोप लगाइएको छ।
स्थानीयहरूका अनुसार प्राविधिक शिक्षाले रोजगारी, उद्यमशीलता र स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पार्दै आएको छ। “शिक्षालय हटाउनु होइन, अझ विस्तार गरेर विश्वविद्यालयसम्म विकास गर्न सकिन्छ,” भन्ने आवाज समुदायबाट उठिरहेको छ।

एमाले उम्मेदवारको धारणा
यस विषयमा नेकपा एमालेका उम्मेदवार अशोक कुमार ब्यान्जु श्रेष्ठले शिक्षालय हटाउने निर्णयको सट्टा यसको स्तरोन्नति गर्नुपर्ने बताएका छन्। उनका अनुसार, “यो संस्थालाई अझ व्यवस्थित गरी विश्वविद्यालयसम्म विस्तार गर्न सकिन्छ। विद्यार्थी संख्या बढाएर रोजगारी सिर्जना गर्न सकिन्छ। यसले स्थानीय व्यापार–व्यवसायमा समेत वृद्धि गर्छ।”
मेयरको स्पष्टीकरण
उता मेयर शान्ति रत्न शाक्यले भने संस्थाको प्रभावकारितामाथि प्रश्न उठाउँदै, “अप्ठेरो परेको बेला काम नलाग्ने संस्था बनेपामा राख्नुको औचित्य छैन,” भन्ने अभिव्यक्ति दिएका छन्। उनले शिक्षालयमा थोरै विद्यार्थी रहेको बताउदै आएका छन् । तर, शिक्षालय पक्ष र स्थानीयले भने ६०१ विद्यार्थी अध्ययनरत रहेको तथ्य प्रस्तुत गर्दै मेयरको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
अनेरास्ववियुको विज्ञप्ति, कांग्रेसभित्र पनि चर्चा
शिक्षालय हटाउने विषयमा अनेरास्ववियु काभ्रेले विज्ञप्ति जारी गर्दै निर्णय पुनर्विचार गर्न नगरपालिकासँग आग्रह गरेको छ।
यसैबीच, नेपाल बनेपा बहु–प्राविधिक शिक्षालय विवादबारे कांग्रेस निकटका इन्जिनियर सुमन थापाले “चुनावको मुखमा हाम्रै मेयर भएकाले चुप छौं” भन्ने अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा समेत बहस सुरु भएको छ।

सामाजिक सञ्जालमा चर्को बहस
पछिल्लो समय सामाजिक सञ्जालमा यस विषयले व्यापक चर्चा पाएको छ। धेरैले ६०१ विद्यार्थीको भविष्य अन्योलमा पार्ने निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् भने केहीले नगरपालिकाको कार्यालय व्यवस्थापनको आवश्यकताबारे पनि तर्क अघि सारेका छन्।
आधिकारिक धारणा प्रतीक्षामा
यस विषयमा नगरपालिकाको थप आधिकारिक धारणा आउन बाँकी रहेको छ। शिक्षालय सारिने वैकल्पिक स्थान, पूर्वाधारको अवस्था र विद्यार्थीहरूको पठनपाठनमा पर्ने प्रभावबारे स्पष्ट योजना सार्वजनिक नभएसम्म विवाद अझै चर्किने संकेत देखिएको छ।
६०१ विद्यार्थीको भविष्य, स्थानीय विकासको दिशा र राजनीतिक जिम्मेवारीबीचको यो बहसले बनेपाको शैक्षिक तथा राजनीतिक परिवेशलाई तातो बनाएको छ। अब प्रश्न उठेको छ—निर्णय पुनर्विचार होला कि शिक्षालय नयाँ मोडतर्फ अग्रसर होला ?


