प्रविधिमैत्री शिक्षासँगै प्रतिभा सम्मान : प्रगति प्रभात एकेडेमीमा ३९औँ अभिभावक दिवस 

 

बनेपा, काठमाडौँ — प्रगति प्रभात एकेडेमी सेकेन्डरी स्कुलमा ३९औँ अभिभावक दिवस, वार्षिकोत्सव, SEE विदाई तथा पुरस्कार वितरण समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

बिज्ञापन

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमअन्तर्गत विद्यालयले आफ्नो शैक्षिक उपलब्धि, प्रविधिमैत्री अभ्यास र भावी योजनाबारे जानकारी गराएको छ।

विद्यालय प्राङ्गणमा आयोजित समारोहका प्रमुख अतिथि दिपक कुमार गौतम रहनुभएको थियो भने विशिष्ट अतिथिका प्याप्सनको केन्द्रिय महासचिव भिमसेन केसि उपस्थिति रहेको थियो। कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी लगायत अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्व नै सफल जीवनको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च लक्ष्यसहित अघि बढ्न प्रेरित गर्नुभयो। विशिष्ट अतिथि केसि ले खेलकुदले आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने अनुभव सुनाउँदै विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा समेत सक्रिय हुन आग्रह गर्नुभयो।

विद्यालयकी प्रिन्सिपल सुमित्रा श्रेष्ठ ताजपुरीयाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिइन्। उनले कक्षा ८ देखि स्मार्ट बोर्डमार्फत अध्यापन गरिँदै आएको र विद्यार्थीहरूलाई प्राविधिक शिक्षासँग जोड्ने नीति अवलम्बन गरिएको बताइन्। अतिरिक्त कक्षालाई विशेष प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको उल्लेख गर्दै उनले प्रत्येक विद्यार्थीलाई उनीहरूको क्षमता र रुचिअनुसार विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइँदै आएको जानकारी दिइन्।

समारोहमा शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो। SEE परीक्षामा सहभागी विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामनासहित विदाई गरिएको थियो।

कार्यक्रमको धन्यवाद ज्ञापन विद्यालयका निर्देशक चन्द्रप्रसाद ताजपुरीयाले गर्नुभएको थियो। कार्यक्रममा स–साना नानीबाबुहरूले आकर्षक सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिँदै उपस्थित अभिभावक तथा अतिथिहरूको मन जितेका थिए।

विद्यालय प्रशासनले आगामी दिनमा प्रविधिमैत्री शिक्षा, अनुशासित वातावरण र सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै संस्थालाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।