
काभ्रे । यतिबेला देशभर चुनावी माहोल व्यापक रूपमा व्याप्त छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सबै दल र स्वतन्त्र उम्मेदवार निर्वाचन मैदानमा सक्रिय भएका छन्। भदौ २३–२४ मा भएको प्रतिनिधि सभा निर्वाचन स्थगनपछि अब यही फागुन २१ गते चुनाव हुने भएको हो। यसै सन्दर्भमा काभ्रे जिल्लामा पनि निर्वाचनको तयारी तीव्र भएको छ। काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि हाल २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।



उम्मेदवारहरू आफ्नै शैलीमा मतदातासँग भेटघाट गरी भोट माग्न व्यस्त छन्। तीमध्ये सबैभन्दा लोकप्रिय उम्मेदवार बसुन्धरा हुमागाई रहेका छन्। लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका हुमागाई अहिले नेपाली कम्युनिष्ट पार्टीबाट काभ्रे क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्।


हुमागाईको व्यक्तित्व मिलनसार र बौद्धिक रहेको बताइन्छ। निर्वाचन नजिकिदै गर्दा उनी आम मतदाताको घर–आँगन पुगेर आर्शिवाद लिन, जनताको दुख–सुख सुन्न र आफ्नो क्षेत्रको विकास योजना प्रस्तुत गर्न व्यस्त छन्। उनले मतदातालाई आफ्नो र पार्टीको पक्षमा भोट दिन आग्रह गर्दै आएका छन्।

माघ ६ गते मनोनयन दर्ता गराएका हुमागाईले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट “तारा” चुनावी चिन्ह प्राप्त गरेपछि गाउँ–गाउँमा मत माग्न सुरु गरेका हुन्। उनको चुनावी गतिविधि शुरू भएसँगै गाउँमा चुनावी रौनक बढेको छ। आम मतदाताले हुमागाईलाई व्यक्तिगत र पार्टीगत कामका आधारमा अग्रस्थानमा राख्दै, उनी काभ्रेको लागि कुशल नेता भएको विश्वास गरेका छन्।
२०७४ सालमा बागमती प्रदेशबाट सांसद निर्वाचित भएका हुमागाईले प्रदेशको कृषिमन्त्री समेत भएर आफ्नो क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गरेका थिए। यस पटक पनि स्थानीयले प्रतिनिधि सभामा उनीलाई भोट दिई निर्वाचित गराउन चाहेका छन्।
बेथानचोक, पनौती र भुम्लुका मतदाताले हुमागाईलाई सहयोग र विश्वास दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी मतदाताको घर–आँगनमा गएर समस्या बुझ्दै, सकेको सहयोग पुर्याइरहेका छन् र भविष्यमा पनि काभ्रेको विकासका लागि निरन्तर साथ दिने प्रतिबद्धता जनाएका छन्।

हुमागाईले जनताको माया र विश्वासको ठूलो मूल्य रहेको भन्दै आफू र आफ्नो पार्टी सधैं जनताको सुख–दुःखमा साथ रहने र काभ्रेको समग्र विकासका लागि काम गर्ने प्रतिवद्धता दोहोर्याएका छन्।


