काठमाडौं, असार २२ –
नन्दलाल खरेल
नेपाल सुनचाँदी व्यवसायी कालीगढ तथा संघर्ष समिति द्वारा आयोजित रिले अनशन आज २० औं दिनमा प्रवेश गरेको छ। ‘हरेक सुनका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर तथा हिरामा लागाइएको १३ प्रतिशत भ्याट खारेज गर’ भन्ने मागसहित सुरु भएको आन्दोलन अझैसम्म समाधान नजिक पुगेको छैन।
संघर्ष समितिका अध्यक्ष विपिन रामु दामुका अनुसार, सरकारले व्यवसायीहरूको मागप्रति चासो नदेखाएको खण्डमा आन्दोलन थप सशक्त बनाई आमरण अनशनसम्म जान बाध्य हुने चेतावनी दिएका छन्। “सरकार व्यवसायीमैत्री छैन, उल्टो दलाल, तस्कर र माफियाको हातमा यो व्यवसाय धकेलिँदैछ,” अध्यक्ष दामुले भने।
उनले भने, “हामी दिनरात पसिना बगाएर कला गर्दै आएका श्रमिक हौं, तर अहिले हामीलाई अपराधीझैं व्यवहार गरिएको छ। साँचो व्यवसायीलाई धक्का दिई तस्करलाई प्रश्रय दिने नीति हामीलाई स्वीकार्य छैन।”
व्यवसायीहरूका अनुसार सरकारको कर नीतिले नेपाली सुनचाँदी व्यवसाय झन् संकटमा परेको छ। औपचारिक व्यापार घट्दै जाँदा तस्करी र अवैध कारोबार बढेको उनीहरूको आरोप छ।
रिले अनशन काठमाडौंको रत्नपार्कमा जारी छ, जहाँ देशभरका विभिन्न स्थानबाट आएका कालीगढ, सुनचाँदी व्यवसायी तथा संघ-संगठनका प्रतिनिधिहरूको सहभागिता छ।
संघर्ष समितिले भनेको छ– “यदि सरकारले समयमै कर सम्बन्धी नीति पुनरावलोकन गरेन भने देशव्यापी आन्दोलनका थप कार्यक्रम घोषणा गरिनेछ।”
यता, सरकारले भने हालसम्म कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन। अर्थ मन्त्रालयले यस विषयमा छलफल भइरहेको बताउँदै आएको छ, तर व्यवसायीहरूले यो प्रतिक्रिया अपूरो र अस्पष्ट भएको बताएका छन्।