धुलिखेलको परिवर्तनदेखि राष्ट्रको नेतृत्वतर्फ : अशोक कुमार ब्याञ्जु

अशोक कुमार ब्याञ्जु श्रेष्ठ 

क्षेत्र नम्वर २, काभ्रेको उम्मेदवार 

बिज्ञापन

स्थानीय शासन, दिगो विकास र अन्तर्राष्ट्रिय सहकार्यका अनुभवी व्यक्तित्व अशोक कुमार ब्याञ्जु काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा उम्मेदवार हुन्। धुलिखेलका पूर्व नगरप्रमुखसमेत रहेका ब्याञ्जु एमाले काभ्रेका पूर्व जिल्ला अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरिसकेका नेता हुन्।
वि.सं. २०२८ भदौ १ गते जन्मिएका ब्याञ्जु बुबा बच्चुनाथ र आमा तुईमाया ब्याञ्जुका सुपुत्र हुन्। श्रीमतीसहित एक छोरा र एक छोरीका पिता उनी बाल्यकालदेखि नै संघर्ष, जिम्मेवारी र आत्मनिर्भरता सिक्दै हुर्किएका हुन्। सानै उमेरमा अभिभावक गुमाए पनि हजुरबुबा र आमाको संरक्षणमा हुर्किएका ब्याञ्जुले जीवनका कठिनाइलाई नेतृत्व क्षमतामा रूपान्तरण गरे।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र, अर्थशास्त्र र साहित्यमा स्नातक गरेका ब्याञ्जुले वि.सं. २०४३ सालदेखि सक्रिय राजनीतिक यात्रा सुरु गरेका हुन्। २०५४ सालमा धुलिखेल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भई उनी देशकै कान्छा उपप्रमुखमध्ये परे। त्यसपछि करिब दुई दशकसम्म नेपाल नगरपालिका संघमा उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै स्थानीय सरकारको सशक्तिकरणमा उल्लेखनीय योगदान दिए।
संघीय संरचना कार्यान्वयनपछि २०७४ मा धुलिखेल नगरप्रमुखमा निर्वाचित भएका ब्याञ्जु पछि नेपाल नगरपालिका संघको अध्यक्षसमेत बने। अध्यक्ष तथा उपाध्यक्षका रूपमा उनले धुलिखेल, काभ्रेपलाञ्चोक र समग्र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अभियानमा सक्रिय भूमिका खेले।
अन्तर्राष्ट्रिय तहमा सन् २०२१ देखि उनले एसिया–प्यासिफिक क्षेत्रका स्थानीय सरकारहरूको सञ्जाल (UCLG ASPAC) को अध्यक्षका रूपमा कार्यभार सम्हाले। यस अवधिमा नगर विकासमा अन्तर्राष्ट्रिय दातृ निकायको संलग्नता, संस्थागत सहकार्य र दीर्घकालीन साझेदारी विस्तार गर्न उनले प्रभावकारी नेतृत्व प्रदान गरे।
उनकै नेतृत्वमा धुलिखेल नगरपालिकाले विश्वमै उदाहरणीय पहिचान बनाएको छ। शून्य कार्बन उत्सर्जनतर्फ उन्मुख विश्वका १५ सहरमध्ये धुलिखेल पाँचौं तथा एसियाकै पहिलो सहरका रूपमा घोषित भयो। दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयन, स्वस्थ सहर घोषणा, र दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी—चार लक्ष्य पूरा गर्दै स्वेच्छिक स्थानीय समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने पहिलो सहरको कीर्तिमान धुलिखेलले कायम गर्‍यो।
शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारका लागि सामुदायिक विद्यालयमा एमजिएमएल विधि, अंग्रेजी माध्यम, प्रविधिमैत्री शिक्षक तालिम तथा भौतिक पूर्वाधार विस्तार गरिएको छ। नगरभित्रका विद्यार्थीका लागि स्नातक तहसम्म निःशुल्क शिक्षा तथा बाहिरी जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएको छ। ९४ प्रतिशत घरधुरीमा ‘एक घर–एक धारा’ खानेपानी सुविधा पुगेको छ भने गरिबी दर १४ प्रतिशतबाट ६ प्रतिशतमा झरेको छ।
प्रविधिमैत्री सेवामा पनि धुलिखेल अग्रणी बनेको छ। स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (सूत्र), राजस्व पोर्टल, कनेक्ट आइपिएस, क्युआर कोड तथा मोबाइल वालेटमार्फत कर तिर्ने व्यवस्था सुरु गरी देशभर विस्तार गरिएको छ। यसले नागरिकलाई सहज, पारदर्शी र छरितो सेवा प्रदान गरेको छ।
राजनीतिसँगै साहित्य, विकास पत्रकारिता र संस्थागत नेतृत्वमा समेत सक्रिय ब्याञ्जु काठमाडौं विश्वविद्यालयलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थामा सल्लाहकारका रूपमा संलग्न छन्। पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन, शहरी योजना, फोहोरमैला व्यवस्थापन र दिगो विकास उनका प्राथमिक कार्यक्षेत्र हुन्।
स्थानीय तहमा दीर्घ अनुभव, नतिजामुखी नेतृत्व र अन्तर्राष्ट्रिय पहिचान बनाएका ब्याञ्जुलाई नेकपा (एमाले) ले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।