पीडाबाट प्रेरणासम्म: राजन अधिकारीको सामाजिक अभियान र आमाको स्मृतिमा जर्सी सहयोग

काभ्रे। खानीखोला गाउँपालिका स्थायी घर भई हाल बनेपामा बसोबास गर्दै आउनु भएका राजनीतिक तथा सामाजिक अभियन्ता राजन अधिकारी काभ्रेको सामाजिक क्षेत्रमा आशाको केन्द्रका रूपमा स्थापित हुँदै जानु भएको छ। नागरिकका हरेक समस्या, दुःख र पीडामा साथ दिँदै आउनु भएका अधिकारीले यसपटक आमाको स्मृतिमा खेलाडीहरूलाई जर्सी सहयोग गरी सबैको मन छुनु भएको छ।

खानीखोला गाउँपालिका–४ मा हालै सम्पन्न ल्होछार कप फुटबल प्रतियोगिता का अवसरमा खानीखोला–७ स्थित पशुपति युवा क्लब ले सहयोगको अपेक्षा राखेपछि अधिकारीले आफ्नी दिवंगत आमा खडककुमारी अधिकारी को स्मृतिमा सौजन्यस्वरूप खेलाडीहरूका लागि जर्सी उपलब्ध गराइदिनु भएको हो।

बिज्ञापन

क्लबका समन्वयकर्ता जीवन पुलामी मगर ले जर्सी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भावुक हुँदै भन्नुभयो,
“आमाको स्मृतिमा खेलाडीहरूलाई गरिएको सहयोग केवल सामग्री सहयोग मात्र होइन, यो प्रेरणा, संस्कार र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो। राजन अधिकारीप्रति क्लब परिवार हार्दिक आभारी छ।”

यस सहयोगको पृष्ठभूमि अझै भावनात्मक रहेको छ। सानै उमेरमा आमालाई गुमाउनुपरेको पीडा, अभाव र संघर्षकै अनुभवले आफूलाई सधैं असहज अवस्थामा रहेका व्यक्तिहरूलाई सहयोग गर्न प्रेरित गरेको अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार दाजु–भाइ–बहिनी तथा आफू मिलेर २३ वर्षअघि मासिक २०० रुपैयाँका दरले संकलन गरिएको ५५ हजार २०० रुपैयाँबाट सहयोग अभियानको सुरुआत गरिएको थियो।

हाल पनि उहाँले मासिक रूपमा २०० रुपैयाँ नियमित बचत गर्दै, व्यवसाय तथा भत्ताबाट प्राप्त हुने रकममध्ये केही थप गरी यही कोषबाट सकेसम्म सामाजिक सहयोग गर्दै आइरहनु भएको छ।
जर्सी हस्तान्तरण कार्यक्रममा राजन अधिकारी बाहिर रहनु भएकाले उहाँका भाइ उद्दव अधिकारी तथा सामाजिक व्यक्तित्व एवं योगगुरु देवी लामा ले खेलाडीहरूलाई जर्सी हस्तान्तरण गर्नुभएको थियो।

सानो देखिने प्रयास भए पनि निरन्तरता, भावना र उद्देश्यका कारण समाजमा ठूलो सन्देश दिने राजन अधिकारीको यस कार्यले खेलकुद प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूको भनाइ छ।

“आमाको निधनपछि २३ वर्षअघि मासिक २०० रुपैयाँका दरले संकलन गरिएको जम्मा ५५ हजार २०० रुपैयाँबाट सुरु गरिएको सहयोग अभियान हालसम्म निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।”