मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै

# मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष २५, २०८२
मौसमी परिवर्तन र रोगका कारण सिन्धुपाल्चोकको सुन्तला उत्पादन घट्दै

काठमाडौँ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडामा सुन्तला खेती गम्भीर संकटमा परेको छ । टिप्न तयार भएका सुन्तलामा औँसे कीरा र पतेरोको प्रकोप देखिएपछि फल बोटबाटै झर्न थालेको छ, जसका कारण स्थानीय किसान चिन्तित बनेका छन् ।

विगतका वर्षमा सुन्तला खेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका किसानहरू यस वर्ष रोग र कीराको प्रकोपले ठूलो क्षति बेहोर्न बाध्य भएका छन् । स्थानीय किसान भोजबहादुर कार्कीका अनुसार फल झर्ने समस्या, रोग र कीराको सङ्क्रमणका कारण सुन्तला बजारसम्म ल्याउनसमेत कठिन भइरहेको छ ।

बिज्ञापन

लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले पनि केही वर्षअघिसम्म सुन्तला बेचेर राम्रो आम्दानी गरेको स्मरण गर्नुभयो । तर हाल उहाँको बगैँचामा पनि सुन्तलाका बोटमा देखिएको रोग र कीराको सङ्क्रमणले ठूलो क्षति पुर्‍याएको छ ।

लामिडाँडामा सुरुमा तीन घरबाट सुरु भएको सुन्तला खेती अहिले प्रायः सबै घरमा फैलिएको छ । हरेक घरमा १५ देखि ५० बोटसम्म सुन्तला रहे पनि सबै किसानले उस्तै समस्या भोगिरहेका छन् । मौसमी असरबाट सुरु भएको क्षति अहिले कीरा र रोगको महामारीकै रूपमा फैलिएको स्थानीयको भनाइ छ । असिनाले फूल नष्ट गर्नु, अनियमित वर्षा र बदलिँदो मौसमले उत्पादनमा गम्भीर असर पारेको किसान धनबहादुर तामाङले बताउनुभयो ।

यसैबीच जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारीले रोग र कीराले सङ्क्रमित फललाई खुला छोड्न नहुने बताउनुभएको छ । झरेका फललाई खाल्डो खनेर माटोमा गाड्नुपर्ने र लार्भालाई माटोमै सड्न नदिएमा आगामी वर्ष झनै ठूलो प्रकोप हुनसक्ने उहाँको चेतावनी छ । रोग र कीराको नियन्त्रणका लागि समय लाग्ने भएकाले किसानलाई सचेत र संयमित हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up