ओली र प्रचण्ड आज भेट्दै, प्रमुख तीन दल नै चुनावमा मिलेर जान खोज्दै 

# ओली र प्रचण्ड आज भेट्दै, प्रमुख तीन दल नै चुनावमा मिलेर जान खोज्दै 
काभ्रे प्रेस
काभ्रे प्रेस || आइतबार, पुष २०, २०८२
ओली र प्रचण्ड आज भेट्दै, प्रमुख तीन दल नै चुनावमा मिलेर जान खोज्दै 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भेटवार्ता गर्ने तयारी गरेका छन्।नेकपा एमालेका एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष ओली र प्रचण्डबीच आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमै भेट्ने तयारी छ।

नेकपा नेता वर्षमान पुनले भेटको पुष्टि गरेका छन्।’संयोजक प्रचण्ड संखुवासभाबाट आउनुभएको छ। उहाँ आइसकेकाले आजै पार्टी केन्द्रीय कार्यालयमा भेट्ने तय भएको छ,’ ती नेताले भने, ‘प्रचण्ड तुम्लिङटारबाट आउन ढिला भएकाले हिजो भेट हुन नसकेको हो।’

बिज्ञापन

उनका अनुसार राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भइसकेको छ। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच देउवा निवासमा भएको भेटमै अनौपचारिक सहमति भएको ती नेताको दाबी छ।

‘राष्ट्रिय सभामा कांग्रेस–एमाले मिल्ने पक्कापक्की भइसकेको छ। यसअघिकै भेटमा टुंगिएको विषय हो त्यो। तर बीचमा नेपाली कम्युनिस्ट पार्टीलाई पनि सँगै लैजाऊँ भन्ने कुरा आएपछि अन्तिम टुंगो नलागेको हो।

राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। रिक्त १९ स्थानमध्ये १८ सिटका लागि चुनाव हुने छ भने एक स्थान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा हो।

एमालेका एक पदाधिकारी तहका नेताले दिएको जानकारी अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पनि प्रमुख तीन दल; नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर जानेबारे घनिभूत छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up