कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा सम्पन्न

काभ्रेपलान्चोक  । कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभामा सहकारी अभियानको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशाबारे व्यापक अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा सहकारीविद् कुबेर निरौलाले सहकारी क्षेत्रको समसामयिक अवस्था र सुधारका उपायहरू समेटिएको कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गर्नुभयो।

बिज्ञापन

क्लबका कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने अध्यक्ष गोपाल दाहालले क्लबको वार्षिक प्रगति प्रतिवेदनसहित आगामी कार्ययोजना सार्वजनिक गर्नुभयो।

सभामा उपाध्यक्ष ठाकुरनाथ अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। साधारण सभाको सभाध्यक्षता क्लबका अध्यक्ष गोपाल दाहालले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटे रहनुभएको थियो। विशेष अतिथिहरूमा जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने रहनुभएको थियो।

साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ काभ्रेका नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन क्लबका सचिव सुवास वैद्यले गर्नुभएको थियो।

२०७८ सालमा दर्ता भएको कोअपरेटिभ मेनेजर्स क्लब काभ्रे सहकारी संघ–संस्थामा कार्यरत कर्मचारीहरूको वृत्तिविकास तथा मानव संसाधन विकास गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो। क्लबलाई सहकारीका व्यवस्थापन प्रमुखहरूको साझा थलोका रूपमा विकास गर्दै लैजाने लक्ष्य रहेको अध्यक्ष दाहालले बताउनुभयो।