
काठमाडौं,
पुस १८ ।

नेपाली कांग्रेसभित्र महाधिवेशन गर्नुपर्ने र नगर्ने पक्षबीच विवाद उत्कर्षमा पुगेको समयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आज (शुक्रबार) दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितका लागि निर्देशन गरिएको छ ।
बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसमा नियमित महाधिवेशन स्थगन भएको र अब विशेष महाधिवेशन गर्नुपर्ने बताउनुभएका थिए ।


यसले कांग्रेसमा विवाद सृजना गरेको छ । विशेष महाधिवेशन गर्ने भन्दै महामन्त्री समूहले भृकुटीमण्डमा हलसमेत बुकिङ गरिसक्नुभएको छ । तर, कतिपयले नेताहरूले आम निर्वाचन नजिकिएको भन्दै महाधिवेशन गर्न नसकिने बताउँदै आएका छन् । तर, महामन्त्रीको समूहले विशेष महाधिवेशन गर्नेगरी गृहकार्य थालिसकेको छ ।


