

काठमाडौं । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकीकृत हुने ऐतिहासिक सहमति भएको छ। दुबै पक्षबीच भएको एकीकरणले वैकल्पिक राजनीतिक धारलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

एकीकरणपछि प्रतिक्रिया दिँदै उज्यालो नेपाल अभियानका अगुवा कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई केन्द्रमा राख्दै सहमति भएको बताएका छन्। उनले भने, “उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। जनताको चाहना र राष्ट्रको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।”


घिसिङले यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास आफूहरूले लिएको उल्लेख गर्दै उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ र सहयोग रहनेमा पूर्ण विश्वस्त रहेको बताए।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय वैकल्पिक र सुधारमुखी राजनीतिप्रति बढ्दो जनचासोलाई संस्थागत गर्न यो एकीकरणलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। एकीकरणसँगै आगामी राजनीतिक यात्रा जनउत्तरदायी, पारदर्शी र सुशासनमुखी हुने अपेक्षा गरिएको छ।


