
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ७० दिन बाँकी छ । राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिसको काम गरिरहेका छन्। यस्तोमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका तीन पदाधिकारीसहित ७ जना नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । केही नेताले सर्त राखेर त्यो पूरा नभए निर्वाचन नलड्ने बताएका छन् भने केहीले नयाँपुस्तालाई स्थान दिन अब निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्री पाण्डे, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू राजेन्द्र केसी र मानबहादुर विश्वकर्मा तथा धादिङ सभापति रामनाथ अधिकारीले निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।

नलड्ने घोषणा गरेकामध्ये महामन्त्री र सहमहामन्त्री पाण्डेले शर्त राखेका छन् । पार्टीभित्र र आफ्नो क्षेत्रमा प्रभाव भएका ७ नेता निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा कसरी सहभागिता जनाउँछ भन्ने चासो बढेको छ ।
बिज्ञापन

महामन्त्री थापा र शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका हुन् । महामन्त्री थापाले निर्वाचनसम्म नेतृत्व नफेरिए निर्वाचन नलड्ने बैठकमा बताएका हुन् ।




