

काभ्रे । “सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग तथा लालीगुराँस टोल सुधार समितिको समन्वयमा सञ्चालन हुने निःशुल्क ६५ दिने (३९० घण्टा) बारिस्ता तालिमको उद्घाटन समारोह सम्पन्न भएको छ।

धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा तथा लालीगुराँस टोल सुधार समितिका अध्यक्ष राम थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। धुलिखेल नगरपालिका वडा नं. ४ को समन्वयमा ट्रेनिङको आयोजना गरिएको हो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष तिमल्सिनाले सीपमूलक तालिम नै आजको आवश्यकताको मुख्य आधार भएको उल्लेख गर्दै भने,
“आजको प्रतिस्पर्धी समाजमा केवल प्रमाणपत्रभन्दा व्यवहारिक सीप महत्वपूर्ण छ।
यस्ता तालिमले युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने बनाउँछ। वडा कार्यालय सधैं यस्ता उत्पादनमुखी र आत्मनिर्भरता केन्द्रित कार्यक्रमको साथमा रहनेछ।”
उनले तालिमलाई गम्भीरतापूर्वक लिई सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्दै स्थानीय युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रमुख प्रशिक्षक नारायण लामा, इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रबन्धक कामदेव शाह, वडा सदस्य सुना मंग्राती, लालीगुराँस टोल सुधार समितिका सचिव सिताराम खतिवडा, रमा देवी थापा लगायतले तालिमको महत्वबारे धारणा राखेका थिए।
वक्ताहरूले सीपमूलक तालिमले स्थानीय युवालाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



