संविधानसभा सदस्य अक्कल बहादुर थिङले गरे वडाध्यक्ष लामाको खुलेर प्रशंसा, खानीखोलाका विद्यालयमा न्यानो कपडा वितरण

 

खानीखोला, काभ्रे।
खानीखोला गाउँपालिका वडा नं. ३ अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। संविधानसभा सदस्य अक्कल बहादुर थिङ (महेश) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का जनता आवि धनमना, कुमारी आवि भाङटारबेशी, हनुमानशक्ति आवि जुरे, केन्द्र ज्योती आवि चित्रे तथा वडा नं. २ को सेतीदेवी आवि सार्किडाँडाका विद्यार्थी नानी–बाबुहरुलाई ट्रयाकसुट, जुत्ता, मोजा, टोपी र झोला वितरण गरिएको हो।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थिङले चिसो मौसममा विद्यार्थीहरुको स्वास्थ्य र पठनपाठनलाई ध्यानमा राखेर गरिएको यो पहल अत्यन्तै सराहनीय रहेको भन्दै वडा अध्यक्ष सागर लामाको खुलेर प्रशंसा गरे। उनले स्थानीय सरकार, सामाजिक अभियन्ता र सहयोगी संस्थाहरुको सहकार्यले समुदायस्तरमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गरे।

उक्त कार्यक्रममा केटाकेटी नेपालका भिम गोले र अविरल जिम्बाको विशेष सहयोग रहेको थियो। सार्किडाँडाका विद्यार्थीका लागि ट्रयाकसुट व्यवस्था गर्ने भिम घिसिङ, झोला सहयोग गर्ने पाँचखाल निवासी सूर्य बहादुर तामाङप्रति पनि आयोजकले धन्यवाद व्यक्त गरेका छन्। साथै समन्वय र पहलमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु दैवलाल घिसिङ, शृजना थिङलगायत विरेन लामा (निमा ब्लोन), युवराज थापा मगर, गणेश जिम्बा, पदम घिसिङ, रिजा घिसिङ, तिलक मोक्तान, बुद्धराज गोले, मिशन जिम्बा र सुमित जिम्बालाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।

यसअघि वडा नं. १ का विद्यालयहरु, वडा नं. ७ को जनहित मावि तथा वडा नं. ३ कै भृकुटी माविमा समेत न्यानो कपडा वितरण भइसकेको जानकारी दिइएको छ। वडा अध्यक्ष लामाले  विद्यार्थीहरुलाई न्यानो कपडा बाँड्ने अभियान गाउँपालिका भरि सञ्चालन गर्ने र आगामी दिनमा अन्तरपालिका स्तरसम्म विस्तार गर्ने योजना रहेको बताए।