

काठमाडौँ। बागमती प्रदेश डजबल संघको आगामी अधिवेशनका लागि अध्यक्ष पदमा महेन्द्र बिष्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नेपाल डजबल फेडेरेसन अन्तर्गत बागमती प्रदेशमा डजबल खेलको समग्र विकास, विस्तार र संस्थागत सुदृढीकरण गर्ने उद्देश्यसहित बिष्ट अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिएका हुन्।

बिष्टले डजबल खेलको दीर्घकालीन विकासका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना तयार पारेको उल्लेख गर्दै खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको हक–हित र क्षमता विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघमा पारदर्शिता, सुशासन र उत्तरदायित्व सुनिश्चित गर्दै संस्थागत सुधार गर्ने उनको मुख्य एजेन्डा रहेको छ।


उनका अनुसार प्रदेशस्तरमा नियमित प्रतियोगिता, तालिम तथा अवसरहरू विस्तार गरी डजबल खेललाई बागमती प्रदेशभर लोकप्रिय बनाउने लक्ष्य लिइएको छ। साथै, युवा प्रतिभाहरूलाई पहिचान, प्रोत्साहन र मार्गदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने योजना समेत उनले अघि सारेका छन्।
बागमती प्रदेश डजबल संघको अधिवेशन २०८२ साल पौष २२ गते काठमाडौँस्थित पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुलमा बिहान ९ बजेदेखि सुरु हुने संघले जनाएको छ। संघले अधिवेशनमा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण सरोकारवालालाई उपस्थितिका लागि आग्रह गरेको छ।
डजबल खेलप्रति लामो समयदेखि सक्रिय रहँदै आएका बिष्टको उम्मेदवारीले बागमती प्रदेशमा डजबल खेलले नयाँ गति लिने अपेक्षा गरिएको छ।



