महामन्त्री शर्माद्वारा सरकार र जेनजीबीचको सहमतिलाई स्वागत

# महामन्त्री शर्माद्वारा सरकार र जेनजीबीचको सहमतिलाई स्वागत
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर २६, २०८२
महामन्त्री शर्माद्वारा सरकार र जेनजीबीचको सहमतिलाई स्वागत

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार र जेनजी समूहबिच भएको सहमतिलाई स्वागत गर्दै यसको कार्यान्वयनमा गम्भीरता देखाउन सरकारलाई आग्रह गरेका छन् ।

उनले जेनजी आन्दोलनले स्थापित गरेको ‘सुशासनको सङ्कल्प र अठोट’ अब सबैको साझा जिम्मेवारी र कर्तव्य बन्नुपर्नेमा जोड दिएका हुन् । सहमति कार्यान्वयनको सन्दर्भमा महामन्त्री शर्माले फागुन २१ गतेको तोकिएको निर्वाचन मिति बाधक बन्न नहुने स्पष्ट पारेका छन्। यद्यपि, मुख्य प्रश्न समाधान र संविधान भएकाले जेनजी समूहहरूलाई अपनत्वमा जोड्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउनका लागि निर्वाचनलाई थोरै पर सारेर वैशाखमा पुर्‍याउनुपर्ने अवस्था आए त्यसलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने उनको धारणा छ ।

बिज्ञापन

यस्तो छ शर्माको भनाई :

सरकार र जेनजीबिचको सहमतिलाई स्वागत छ ।

विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण छ l मूलत जेनजी प्रदर्शनले स्थापित गरेको `सुशासनको सङ्कल्प र अठोट´ आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्दछ ।

राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविच्छिन्न सारथि हुन् भन्ने तथ्य हेक्का राखेर सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न सक्नुपर्दथ्यो l त्यसो गरेर `भोलिकालागि भरपर्दो´ बनाउन सरकार नचुक्नु पर्थ्यो l अब दस्ताबेजको प्रारम्भिक कार्यान्वयन क्रममा सरकारले यसमा गम्भीरता राख्न जरुरी छ । कार्यान्वयनमा अत्यावश्यक समय लगाइरहँदा फागुन २१ को मिति बाधक बन्नुहुन्न । हामी सबै त्यो मितिप्रति प्रतिबद्ध छौँ । तर मूल प्रश्न समाधान र संविधान हो, अतः जेनजी समूहहरूलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वाभाविक रूपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up